आइतवार, मंसिर १४, २०७७
पुस्तक प्रमुख समाचार समसामयिक

नेपाल–भारत सुरक्षा मामलाको पुस्तक विमोचन

११ आश्विन, काठमाडौं । नेपाल–भारत सम्बन्ध, प्रतिरक्षा र सुरक्षा मामलाको पुस्तक सार्वजनिक भएको छ । सोमबार मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले पुस्तक विमोचन गरेका हुन् ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालले गत वर्ष भारत उत्तराखण्डको देहरादूनमा नेपाल र भारतका सुरक्षा मामलाका जानकारहरुलाई भेला गरी आयोजना गरेको दुई दिने गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्र र प्रवचन समेटिएको पुस्तकको सम्पादन डा. दीपककुमार अधिकारी र डा. टीकाराम पौडेलले गरेका हुन् ।

पुस्तकमा पूर्व प्रधानसेनापति गौरव शमशेर राणा, नेपाल प्रहरीका पूर्व आइजीपी ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरीका पूर्व आइजीपी किशोर लामा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नेपालका लागि भारतका पूर्व राजदूत रञ्जीत रे, सुरक्षाविद् जनरल अशोक मेहतालगायतको अनुसन्धानमूलक लेख तथा प्रवचन समावेश गरिएको छ । पुस्तकले नेपाल–भारतबीच विद्यमान सुरक्षा मामलामा सम्बन्ध र समस्यालाई उजागर गर्दै सुझाव समेत प्रस्तुत गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमार, पूर्व प्रधानसेनापतिहरु, पूर्व आइजीपीहरुका अलावा सुरक्षा मामलाका जानकारहरुको उल्लेख्य उपस्थिति थियो ।

पुस्तक विमोचन समाहरोहमा बोल्दै पूर्व मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले सुरक्षा र सम्बन्ध विश्वासका आधारमा मजबुत हुने भन्दै दुई देशबीचको आपसी सम्बन्ध सुमधुर बनाउन विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए । उनले जनस्तरको सम्बन्ध नै सुरक्षा सम्बन्धलाई बलियो बनाउने आधार रहेकाले जनस्तरको सम्बन्ध सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल र भारतबीच अन्यौन्याश्रित सम्बन्ध रहेकाले समस्याको पहिचान गरी समाधानतर्फ जानुपर्ने बताए । उनले भने,‘हल्लाका आधारमा नभई यथार्थ पत्ता लगाई समस्या समाधानतर्फ जानुपर्छ ।’

नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमारले पुस्तकले सुरक्षा नीति बनाउन सुझाव दिएकोमा खुशी व्यक्त गरे । दुई देशबीच सुरक्षा सम्बन्धी नीति बनाउन पुस्तक सहयोगी बन्ने विश्वास व्यक्त गर्दै सुझावलाई समेटेर जानुपर्ने बताए । कतिपय विषयमा गलत व्याख्या हुँदा समस्या आउने गरेकोतर्फ सबै सचेत र सजग हुनुपर्नेमा उनको जोड थियो ।

अन्तर्राष्ट्रिय सहयोग परिषद्का महासचिव श्याम पराण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध राजनीति भन्दा माथि रहेको बताए । जनस्तरको सदीऔं देखिको सम्बन्धको आत्मा धर्म र संस्कृति रहेको भन्दै त्यसलाई मनन गर्नुपर्ने बताए । दुई देश एक अर्काको शान्ति र सुरक्षाका लागि सदैव सहयोगी भएको बताए ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपालका निर्देशक तथा पुस्तकका सम्पादक डा. दीपककुमार अधिकारीले दुई देशबीचको सम्बन्धबारे गलत प्रचारप्रसार हुँदा समस्या आएको बताए ।

सुरक्षा जस्तो संवेदनशील विषयमा समेत गलत प्रचार हुनुलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै आपसी विश्वास, विवेकसंगत निर्णय र समन्वयबाट नै द्वीपक्षीय सम्बन्ध र सुरक्षा मामलामा लाभ पुग्ने बताए ।

पुस्तकको टिप्पणी सुरक्षा मामला विज्ञ चिरनजंग थापाले गरेका थिए भने कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानकी महासचिव नलिनी ज्ञवालीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”