आइतवार, मंसिर २१, २०७७
अन्तर्वार्ता प्रमुख समाचार विचार

१०० देशमा पुगेर बालबालिकाको लागि घर बनाउँछु : तील बहादुर कार्की

काठमाडौं । २०२९ सालमा पाँचथरमा जन्मनु भएका बाल अधिकार अभियन्ता तथा समाजसेवी तिल बहादुर कार्कीले बिगत ११ बर्ष देखि संयुक्त अपाङ्ग एकता आवाज केन्द्र सञ्चालन गर्नु भएको छ । केन्द्रमा अहिले ४५ जना असहाय, अनाथ अपाङ्ग, द्वन्द्वपिडित, बाढिपिडित, भुकम्पपिडित बालबालिकाहरु रहेका छन् । तिल बहादुर कार्की संस्थाका अध्यक्ष हुनुहुन्छ । अध्यक्ष तिल बहादुर कार्की जन्मदा हात खुट्टामा ६–६ औंला भएको कारणले उहाँको आमालाई गाउँलेहरुले अलच्छिना भन्दै कुरा काट्थे । आफू अपांग जन्मिएकै कारण आमाले धेरै गालि, वेइज्यति सहनु परेको उहाँ स्वयंले देख्नु भयो । हुर्कदैं बढ्दै जाँदा सबै कुरा बुझे पछि तिल बहादुरले जीवनसँग हारेर आत्महत्या गर्ने सम्मको सोच पनि बनाउनु भयो । तर आज उहाँ स्वयं धेरै जीवनहरुको भविष्य उज्वल बनाउन लागि पर्नु भएको छ ।

१० वर्षको उमेरमा उहाँ भागेर काठमाडौं आउनु भएका कार्कीले २५ बर्ष सम्म पशुपतिनाथ र बौद्ध क्षेत्रको सडकपेटीमा मागेर जम्मा गरेको पैसा साथिहरुले चोरेर हैरान पार्ने गरेकोले पैसा बचाउन पशुपतिको जंगलमा माटोमुनी गाड्न थाल्नु भयो । एकरात सपनामा भगवानले दुःखी गरिवहरुको सेवा गर्न भनेपछि उहाँले समाजसेवाको क्षेत्रमा कार्य गर्ने उदेश्यका साथ स्थानीय प्रहरीको रोहवरमा पशुपति जंगलमा गाडेको पैसा निकाल्नु भयो । कागजका नोट कुहिए पनि सिक्का पैसा ५ लाख भन्दा बढी जम्मा भईसकेको रहेछ । त्यही पैसाले २०६४ सालमा संस्था स्थापना गरी उहाँले आफु जस्तै अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाइ आश्रय दिएर उनीहरुको अभिभाबक बनि गास बास कपास र शिक्षा दिने कार्य सुरु गर्नु भयो । अहिले कार्की सस्थामा आश्रित बालबालिकाहरुको एक असल अभिभाबक बनेर उनीहरुको भबिष्य उज्जवल बनाउन दिन रात लागि पर्नु भएको छ । आफु मरेर गए पनि संस्थामा आश्रित बालबालिकाहरुको भविष्य उज्वल होस् भन्दै संस्थाको स्थायि घर निर्माण गर्नका लागि सहयोगी दाताहरुको खोजि गरिरहनु भएको छ । उहाँलाई जीवनमा केही तलमाथी भईहाले आश्रित बालबलिकाको भविष्य के होला भन्ने चिन्ताले सताईरहने बताउनु हुन्छ । सहयोगि दाताहरुको सहयोगमा गोकर्णमा भाडामा लिएको जग्गामा अब ७ वर्षका लागि बस्ने अवस्था रहेपनि त्यसपछि बालबालिकालाई कहाँ राख्ने भन्ने चिन्ता गर्नु हुन्छ । त्यसका लागि उहाँ संस्थाकै नाममा घर जग्गाको व्यवस्था गर्न सहयोगीको खोजिमा हुनुहुन्छ ।
बालबालिकाको ‘आफ्नो घर, प्यारो घर निर्माण’ गर्ने उदेश्यका साथ सन् २०२५ सम्ममा १०० देशमा गएर सहयोग संकलन गर्ने योजना रहनु भएको छ । उहाँ विदेशमा सम्मानित हुनु भएको छ । उहाँले अहिलेसम्म भारत, चिन (हङ्गकङ्ग), द.कोरिया, सिंगापुर, कतार, मलेशिया गरी ८ देशमा जानु भएको छ । त्यहाँ नेपालीहरुले व्यक्तिगत र त्यहाँका संघसंस्थाले गरेको सहयोगबाट प्रभावित र प्रोत्साहित हुनु भएको छ । ८ देशमा पुग्दा पाएको माया र सहयोगबाट कार्की सयदेशमा पुगेर माया, सहयोग, सद्भाव बटुल्दा बालबालिकाको ‘आफ्नो घर, प्यारो घर निर्माण’ गर्ने सपना पुरा हुनेमा विश्वस्त हुनुहुन्छ । यसै सन्दर्भमा केन्द्रीत रहेर हेलो पत्रिकाका रविराज रिमालले संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तील बहादुर कार्कीसँग गरेको कुराकानी यसप्रकार छ:-

  •  तपाईले २०२५ सम्मका किन १०० देश घुम्ने लक्ष्य लिनु भयो ?

संस्थाका बालबालिकाहरुको उज्वल भविष्यको कामना बोकेर संसारभरका नेपालीहरुको माया, सद्भावले संस्थाको आफ्नै भवन निर्माण गर्ने उदेश्य बोकेर मैले सय देश घुम्ने लक्ष्य बोकेको हुँ । हाम्रो संस्थालाई देश भित्र र बाहिरबाट नेपालीहरुले धेरै माया गरिरहनु भएको छ । मेरो डकुमेन्ट्री हेरेर संस्था संचालनमा सहयोग जुटिरहेको जस्तै संस्थाको भवन निर्माणका लागि पनि नेपाली दाजुभाई दिदिबहिनीहरुले सहयोग गर्नु हुनेछ भन्ने मैले विश्वास बोकेको छुँ ।
मैले अहिलेसम्म ८ वटा देश घुमिसकें । त्यहाँका व्यक्ति, संस्थाहरुले हातेमालो गरिरहनु भएको छ । संस्थाको आफ्नै भवन नहुँदा धेरै कठिनाई भईरहेकोले विश्वमा छरिएर रहनु भएका नेपालीहरुसँग हातेमालो गर्नका लागि नेपाली राष्ट्रिय झण्डा बोकेर एक सय देशमा जाने उदेश्य लिएको छुँ । एनआरएन लगायत नेपालीहरुबाट साथ पाउँदै आएकोले मेरो उदेश्य पुरा हुनेछ भन्नेमा पुर्ण विश्वस्त छुँ ।

  •  तपाईलाई सय देश घुम्ने विचार कसरी आयो ?

म सय देशमा घुम्न नभएर यस संस्थामा आश्रीत बालबालिकाहरुको भविष्य राम्रो होस्, संस्थाको आफ्नै भवन होस् भन्ने बालबालिकाको चाहना रहेकोले त्यो चाहना पुरा गर्न सय देशमा जान लागेको हुँ । भोली संस्थाका बालबालिका सडकमा जाने अवस्था नआओस् भन्नाका लागि संस्थाको आफ्नै भवन होस् भन्ने मेरो चाहना हो । त्यसका लागि नेपालीहरुको माया, सहयोग, सद्भाव जुटाउन, नेपाली संघसंस्थाहरुलाई गुहार्न मैले सय देशमा जाने विचार बनाएको हुँ ।

  •  अहिलेसम्म तपाईले ८ देश घुमिसक्नु भयो ? कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

मैले आठ देश घुमिसक्दा नेपालीहरुले व्यक्तिगत र संस्थागत रुपमा धेरै माया गर्नु भयो । तपाईहरुले देख्न सक्नु हुन्छ । अहिलेको भाडामा लिएको जग्गामा पनि १४ कोठे भवन बनाएका छौं । बलियो कम्पाउण्ड छ । टनेलमा तरकारी खेति गरेको छौं । यहाँ ७०–८० लाख खर्च भईसक्यो । यो सबै नेपालीहरुकै माया हो । उहाँहरुकै सहयोगले हामी यस अवस्थामा आउन सकेका छौं भनें अव आफ्नै जग्गामा भवन बनाउने कार्यमा पनि नेपालीहरुले सहयोग गर्नु हुनेछ । म जुन देशमा जान्छु त्यहाँ उहाँहरुले कार्यक्रम व्यवस्थापनमा सहयोग गरि प्रतक्ष्य रुपमा सहयोग जुटाउन पनि लागिरहनु भएको छ । मलाई हौसला दिईरहनु भएको छ । हामी छौं, तपाईलाई सहयोग गर्छौं भनिरहनु भएको छ । म अपांगता भएको व्यक्ति भएर अपांग अनाथको सेवामा लागेकोले उहाँहरुले मलाई माया, प्रशंसाा र प्रोत्साहन गरि सहयोग पनि गरिरहनु भएको छ । सहयोग गर्ने प्रतिबद्धता पनि जनाईरहनु भएको छ । ‘एक थुकि सुकि, सय थुकी नदी’, थोपाथोपाले नदी बन्छ भनें जस्तै धेरै देशबाट थोरै थोरै सहयोग जुटाउँदा पनि धेरै हुने भएकोले सहयोग जुटाउन मेरो सय देशमा जाने योजना धेरै सफल हुने मैले अनुभव गरेको छुँ ।
संस्थामा पूर्व मेची देखि महाकालीसम्मका गरिब, अनाथ, अपांग बालबालिकाहरुले आश्रय लिएका छन् । उनीहरुको लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको उचित प्रवन्ध गर्नका लागि बालबालिकाको लागि हाम्रो घर, प्यारो घर पनि चाहिने महशुष गरेकोले मैले देश विदेशबाट सहयोग जुटाएर, हातेमालो गरेर संस्थाको आफ्नै घर बनाउने उदेश्य बोकेको हुँ ।

  •  तपाईको सय देश घुम्ने योजनामा कस्ले कसरी सहयोग गरिरहनु भएको छ ?

मेरो संस्थाको बालबालिकाको भविष्य राम्रो बनाउने संस्थाको आफ्नै घर बनाउने उदेश्य बुझेर नेपाली राजदुतहरु, एनआरएन संघसंस्था, विदेशमा रहेका नेपालीहरुका संघसंस्था देखि व्यक्तिहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ भनें म जहाँ जान्छु त्यहाँ कार्यक्रम राख्ने, व्यवस्थापन गर्ने, सहयोग उठाउने जस्ता कार्यहरु गरिरहनु भएको छ । त्यसले मलाई प्रोत्साहनका साथै सहयोग पनि मिलिरहेको छ त्यसैले म यो अभियानमा लागिरहेको छुँ ।

  •  सय देश घुमिसक्दा तपाईलाई संस्थामा कस्तो परिवर्तन ल्याउन सक्छु जस्तो लाग्छ ?

मैले सय देश घुमिसक्दा संस्थाको आफ्नै घर बनिसक्छ । संस्थाको आफ्नै विद्यालय पनि हुनेछ । संस्थाले सामुदायिक स्वास्थ्य केन्द्र बनाउनेछ । स्रोत साधन धेरै भए पछि अहिले ५० जना नानीबाबु छन् भनें भोली ५०० जना नानीबाबुहरु संस्थामा आश्रीत हुनेछन् । मेचीदेखि महाकालीसम्मका आश्रीत नानीबाबुहरुको ‘हाम्रो घर प्यारो घर’ भनें झैं संस्थाको आफ्नै घर बनाउन सकिनेछ भनेर म अभियानमा निरन्तर लागिरहेको छुँ ।

  •  अन्त्यमा तपाई देशभित्र र बाहिरका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?

अहिलेसम्म तपाई हामीले काँधमा काँध मिलाएर, साथमा साथ मिलाएर, हातेमालो गर्दै काम गरिरहेका छों । त्यसैगरी नानीबाबुहरुको प्यारो घर बनाउन, हामी सबैको साझा घर बनाउन सबैले सक्दो सहयोग गरिदिनु होला भन्न चाहन्छु । हामीले एक दिन संसार छोडेर जानै पर्छ । हामी नाङ्गै यस संसारमा आयौं, नाङ्गै जानु पर्छ । ढिलोचाँडो मात्र हो त्यसैले नानीबाबुको प्यारो घर बनाउन हातेमालो गरौं । हामीले राम्रो कर्म गर्दा भगवान पनि खुसि हुन्छन् । त्यसैले यो पवित्र कार्यमा सबैले आफूले सक्दो सहयोग गरिदिनु हुन आग्रह गर्दछुँ । (प्रस्तुती : रबिराज रिमाल / २०७६ कार्तिक २९)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू