आइतवार, मंसिर २१, २०७७
प्रमुख समाचार राष्ट्रिय विचार समसामयिक

दुष्चक्रको नालीबेली : कसरी उम्किएलान् ओली ?

कडा र रमाइला भनाईका लागि प्रसिद्ध ओली आफ्नै अभिव्यक्तिको कारण पार्टी भित्र र बाहिरबाट कडा आलोचनामा परे । यसले उनीप्रतिको विश्वासको ग्राफ ह्वात्तै घटाईदिएको छ ।

काठमाडौं । गत संघीय र प्रदेश निर्वाचनमा नेकपाले सुविधाजनक बहुमत पायो । झण्डै दुई तिहाई मत पायो । तर जनताले जति बलियो मत दिए पनि सरकार बलियो बन्न सकेन । तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेकपाले हतारमा चुनाव लक्षित एकता गरे । ठूला कम्युनिष्ट पार्टीका दुई नेताले आलोपालो सरकार चलाउने भद्र सहमति सहित भएको तामझामपूर्ण र बहुप्रचारित एकता प्रक्रिया चुनावमा बलियो जनमत सहित सरकार बने पछि छेडिएको आलोपालोको वहश पछि पूर्व एमालेको ओली गुट र प्रचण्डको क्रान्तिकारी छविको बिचमा कडा टकराव देखिए पछि नेकपा एकता प्रकृया र एकिकृत पार्टीको भविष्यबारे धेरै कोणबाट विश्लेषण हुन थालेको थियो ।

चुनावपछि नेकपाले मधेशवादी दलको सहयोगमा दुई तिहाईको बलियो सरकार गठन गर्न सफल भयो । तर सरकार भएको १ वर्षसम्म विकासे आकर्षक नारा दिने बाहेक प्रभावकारी काम गर्न सकेन । अनि संघियतालाई संस्थागत गर्ने, तीन तहका सरकारका अधिकारको बाँडफाँड, समन्वय आदी कानून निर्माणका अनेक पक्ष योजनामा व्यस्त रहनु परेको भन्दै सरकारले आफ्नो असफलता ढाक्ने प्रयास पनि गरिरह्यो ।

यसै बिच गोकर्ण रिसोर्टको मुद्दामा नीतिगत भ्रष्टाचारको आरोप लागे पनि प्रधानमन्त्रीले सम्वन्धित मन्त्रीमाथी आवश्यक प्रस्टिकरण लिएनन् । न त छानविन, न त कारवाहीको भरोसा दिए । भ्रष्टाचारमा शुन्यसहनशीलता भनें पनि व्यवहारमा त्यस्तो नदेखिए पछि नेपालको लोकतान्त्रिक इतिहासकै शक्तिशालि प्रधानमन्त्री र सरकारको आलोचनाको स्वर बढ्न थाल्यो । निर्मला पन्त काण्ड, विप्लव नेकपाको नेताको इन्काउण्टर आदी पछि प्रहरी प्रशासनको व्यवसायिकतामाथी प्रश्न चिन्ह उठ्यो । तर पनि सरकारले यि घटनामा सन्तोषजनक उत्तर दिन सकेन । दुईतिहाईको सरकार निरिह भएको वहश वौद्धिक क्षेत्रमा चल्यो । निर्मला पन्त काण्डमा त जनताहरु नै प्रहरी प्रशासन र सरकारसँग निराश भए । सरकार यति काण्ड तथा अन्य घटनाहरुको प्रभावकारी छानविन भन्दा पनि विरोधका स्वरहरुलाई वेवास्ता गर्न मै लागिरह्यो । यि काण्डहरुले सरकार पाएको जनमत बलियो भए पनि कार्यप्रगति पूर्ववर्ति सरकार भन्दा फरक नरहेको जस्ता निष्कर्षले सामाजिक सञ्जालहरु भरिए । फलतः राजनीतिक, सामाजिक वृत्तमा सरकार प्रतिको भरोसा घट्दै गयो । एकातिर विकासका कार्यक्रम मार्फत जनतालाई खुसी बनाउन नसकेको सरकारका राज्य सञ्चालनका तौरतरिका प्रभावकारी हुन नसकेको, बलियो सरकारको राज्य सञ्चालनको प्रस्तुति भनें निम्छरो भएको भन्दै आलोचनाका स्वरहरु बढ्दै गए ।

आलोपालो सरकार चलाउने भद्र सहमति तोडिए पछि असन्तुष्ट भएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ५ वर्ष केपि शर्मा ओलीलाई नै चलाउन दिने तर पार्टी पद्धतिबाट सरकार चल्नु पर्ने आपसी सहमतीलाई स्विकार गरे पछि सरकार र नेकपा पार्टीको समन्वयमा सरकारले राम्रो कार्य गर्न सक्ने स्थिर सरकारको आभाष हुने गरी काम हुने जनविश्वास बढ्दै गयो । यसैबिच ७० करोड काण्डमा प्रधानमन्त्रीका सबैभन्दा विश्वासपात्र मानिएका सञ्चारमन्त्री गोकुल बास्कोटा मुछिए पछि सरकारको आलोचनाको ग्राफ ह्वात्तै बढ्यो । बास्कोटा र ओम्नी कम्पनीको सम्बन्धका बारेमा अनेक समाचार र चर्चाहरु बाहिरिए । प्रधानमन्त्रीको विरुद्ध आलोचनाका स्वरहरु पार्टी भित्रबाट र बाहिरबाट पनि बलियोसँग उठ्यो । सरकार चौतर्फि आलोचनामा फस्यो । त्यसपछि कोरोनाको भयावह स्थितीमा प्रधानमन्त्री केपी ओलीको सरकारका मन्त्रीहरुको स्वार्थ ओम्नि कम्पनीसँग जोडिएका समाचार आउन थाल्यो । कोरोनाको विषम परिस्थितीमा औषधि खरिद काण्डले सरकार सबैभन्दा धेरै आलोचित भयो ।

यसै विचमा दल विभाजन अध्यादेश ल्याएर प्रधानमन्त्री धेरै नै बदनाम भए भनें राजनीतिक रुपमा उनलाई पार्टी भित्र र बाहिर सबैतिरबाट शंकाको दृष्टिबाट हेरिन थालियो । यस अघि एमसिसिको विवादमा पूरै नेकपा २ चिरा थियो । ओली संसदबाट एमसिसि जसरी पनि पारित गर्ने योजनामा थिए भनें प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, लगायतका नेताहरु संशोधन विना संसदबाट एमसीसी पारित गर्न नहुने पक्षमा थिए । नेकपाका नेता भिम रावल एमसीसी कुनै पनि हालतमा पास गर्न नुहने पक्षमा थिए । एमसीसीको विवादले नेकपा लगभग दुई चिरा नै भईसकेको थियो ।

यसरी, अनेक काण्डसँग जोडिएर सरकारको आलोचना बढ्न थाले पछि सरकारले चुच्चे नक्शा जारी गर्ने साहस देखायो । यसबाट प्रधानमन्त्रीले नाकाबन्दिको समयमा लिएको अडान पछि पाएको जस्तै राष्ट्रवादी छवि बनाए । सरकार गठन पछिका अनेक काण्डले धुमिलिएको छवि सुधारे । सबै राजनीतिक दलहरुको बलियो साथ लिएर संविधान संशोधन पनि सम्पन्न भयो । तर चुच्चे नक्शाको जसलिन भारतको उग्र विरोध गर्ने शिलशिला जारी रह्यो । नयाँ नक्शा जारी गर्ने जस एकथरी प्रधानमन्त्री ओली र सरकारले मात्र पाउने वहशमा लागे । अर्काथरी नक्शा जारी गर्दा भएको राष्ट्रिय सहमतीका आधारमा सबैले जस लिन पाउने भन्न थाले । यस्तो बहश नेकपा भित्र पनि थियो । नेकपा भित्रै पनि नयाँ नक्शा जारी गरेको सबै जस ओलीलाई दिन वरिष्ठ नेताहरु स्वयं तयार थिएनन् । यसैलाई टेकेर हुन थालेको ओलीको देवत्वकरण विरुद्ध नेकपाकै नेताहरुले असन्तुष्टि पोखिरहेका थिए । प्रधानमन्त्री ओलीको कार्यशैलीबारे, सरकारको कार्य प्रगतीबारे पार्टी भित्रै ओली र सरकारको आलोचना बढीरहेका थियो ।

यसै सन्दर्भका बीचमा न्युनतम् कुटनीतिक मर्यादाको समेत ख्याल नगरी भारतको समर्थनमा सरकार गिराउन नेपाली नेताहरु लागेको विवादास्पद अभिव्यक्ति पछि प्रधानमन्त्री ओली चौतर्फि आलोचनाको शिकार भएका छन् । सरकारका कमिकमजोरी सुधार्नुको सट्टामा कुटनीतिक अपरिपक्वता देखाएको भन्दै प्रधानमन्त्री ओली कडा आलोचनाको शिकार भए । शायद प्रधानमन्त्रीले यस्तो हुन्छ भन्ने सोचेका पनि थिएनन् होला । भारतले सरकार गिराउन चाहेको कुराले आफ्नो राष्ट्रवादी छवि धेरै माथि आकाशिने प्रधानमन्त्रीको अनुमान थियो होला । तर आफूमात्र राष्ट्रवादी देखिने अभिव्यक्ति पछि अरु सबै भारतपरस्त भन्ने अर्थ लागे पछि ओलीले कडा आलोचना सामना गरे । हुन त ओलीले भारतलाई गालि गरेर एतातिर सरकार र आफ्नो राष्ट्रवादी छवि बलियो हुने र अर्को तिर पार्टी भित्र र बाहिरका सबै विरोधी शक्ति एउटै वाणले घाइते हन्छन् भन्ने सोचेका थिए होलान् । तर नयाँ नक्शा जारी गर्दा राष्ट्रिय एकता कायम गर्न सहयोग गरेका शक्तिहरु ओलीको चाहना अनुसार भारतपरस्त बन्न तयार भएनन् र ओलीको कडा आलोचना गरे ।

कडा र रमाइला भनाईका लागि प्रसिद्ध ओली आफ्नै अभिव्यक्तिको कारण पार्टी भित्र र बाहिरबाट कडा आलोचनामा परे । यसले उनीप्रतिको विश्वासको ग्राफ ह्वात्तै घटाईदिएको छ । यो घटना उनलाई सत्ताच्युत गर्न निर्णायक हुन सक्ने विश्लेषणले राजनीतिक वहशको बजार तातेको छ । के हुन्छ यसै भन्न त सकिन्न तर यो दुष्चक्रबाट निस्कन ओलीलाई सजिलो भनें पक्कै छैन । (रबिराज रिमाल)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू