शुक्रबार, मंसिर १९, २०७७
प्रमुख समाचार राष्ट्रिय समाज र संस्कृति

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सकियो छठ

६ मंसिर, काठमाडौं । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।

कोरोना महामारीका कारण विगतको वर्षहरुमा भन्दा केही फरक ढंगले छठ मनाइएको छ । वीरगञ्जका छठघाटहरु विशेष किसिमले सजाइएका छैनन् । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएको थियो ।

वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिने गरेको थियो । यस वर्ष अधिकांश छठघाट सजाइएको छैन ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन् । (अनलाइनखबरबाट)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”