बुधबार, माघ १४, २०७७
प्रमुख समाचार शिक्षा

पाठ्यक्रम सम्बन्धि अन्योलता अन्त्यका लागि विद्यार्थी परिषद्द्वारा ध्यानाकर्षण

२३ पौष, काठमाडौं । पाठ्यक्रम सम्बन्धि अन्योलता अन्त्यका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आज ध्यानाकर्षण गरेको छ ।
परिषद्ले सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध मुद्दाको पेसी सातौं पटक स्थगित गरेसँगै विद्यार्थी परिषद्ले सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएको हो ।

कक्षा ११ को पाठ्यक्रम सम्बन्धि अन्योलताको अन्त्यका लागि सर्वोच्च अदालतबाट सुनुवाइमा भइरहेको ढिलाइप्रति खेद प्रकट गर्दै विद्यार्थी परिषद्ले उक्त मुद्दाको यथाशीघ्र फैसला गरी पठन पाठमा देखिएको अन्योलता अन्त्य गर्न आग्रह गरेका छन् । विद्यार्थी परिषद्, काठमाडौं महानगर इकाई समितिका प्रतिनिधि टोलीले आज काठमाडौं जिल्ला प्रमुख अधिकारी मार्फत् सर्वोच्च अदालत समक्ष ज्ञापनपत्र बुझाएको छ । विद्यार्थी परिषद् विरेन्द्रनगर नगर इकाई समिति, अमरगढी नगर इकाई समिति डडेल्धुरा लगायतका विभिन्न जिल्लाका इकाई समितिले जिल्ला प्रमुख अधिकारी मार्फत सर्वोच्च अदालत समक्ष ज्ञापन पत्र बुझाएका छन् । पठन पाठमा देखिएको अन्योलता अन्त्य गर्न दबाब स्वरूप विद्यार्थी परिषद्ले देशको विभिन्न स्थानमा दवाफ र्‍याली समेत गरेको छ ।

शैक्षिक सत्रको समय सकिदासम्म समेत सरोकारवाला निकाय एवंम् शैक्षिक संघ संस्थाले यस विषयमा ठोस पहल नगर्नु लज्जास्पद विषय भएको भन्दै विद्यार्थी परिषद्ले सम्वन्धित निकायहरूमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको हो । पटक–पटक सुनुवाइ गर्ने सूचना जारी गर्दै गरेको पेसी स्थगित कार्यले लाखौं विद्यार्थीहरुको भविष्य जोडिएको शिक्षालाई प्राथमिकता नदिएको प्रति विद्यार्थी परिषद्ले घोर आपत्ति प्रकट गर्दै गम्भीरताका साथ लिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालत कतै केही शैक्षिक माफियाहरूको प्रभावमा आएको हो कि भन्ने गम्भीर राष्ट्रिय प्रश्न खडा भएको विद्यार्थी परिषद्ले बताएको छ । कार्तिक १९ गते सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारुप, २०७६ लाई कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेर पेसीका लागि मिति तोके पनि मुद्दाका लागि भने समय निकाल्न सकिरहेका छैनन् ।

मुद्दाको यथाशीघ्र फैसला गरी देशभर कक्षा १ र कक्षा ११ को पाठ्यक्रम पठन पाठनमा देखिएको अन्यौलताको अन्त्य गरिदिन सम्मानित सर्वाेच्च अदालत समक्ष विद्यार्थी परिषद्ले आग्रह गरेको छ । गणित पाठ्यक्रम प्रारुप, २०७६ मा गणित विषयलाई अनिवार्य विषयको सूचीबाट हटाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेसंगै पाठ्यक्रम कार्यन्वयनको अन्योल देखिएको हो । पेसी अगाडी सारी सक्दो चाडो फैसला सुनाई सर्वाेच्चको गरिमा र आम शिक्षा जगतको सर्वाेच्च अदालत प्रतिको विश्वास कायम राख्न विद्यार्थी परिषद्ले अपिल गरेको छ ।

विद्यार्थी परिषद्ले आफ्नो ज्ञापन पत्रमा श्री सर्वोच्च अदालत, काठमाडौं, नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नाममा बोधार्थ उल्लेख गरेर ज्ञापन पत्र बुझाएको हो । विद्यार्थी परिषद्ले विभिन्न स्थानमा प्लेकार्ड देखाएर, नारा लगाएर विरोध जनाएका छन् ।

कक्षा ११ को पाठ्यक्रमको अन्योलता यथाशीघ्र अन्त्य होस् । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइदैन । देश र विद्यार्थीको भविष्यप्रति पनि गम्भीर बनिदेउ न्यायालय । सहज रूपमा पढ्ने र पढाउने वातावरण निर्माण गरिदेउ । शिक्षामाथिको राजनीति र व्यापार बन्द गरिदेउ । पाठ्यक्रम माथिको सुनुवाइ तुरुन्त गरियोस् । विद्यार्थीहरू माथिको मानसिक तनावलाई हटाउ । विद्यार्थी शक्ति– राष्ट्र शक्ति । मा. न्यायाधीशहरू सावधान–जागेका छन् नौ जवान । माननीय न्यायाधीशसङ्ग एउटै अनुरोध, अन्त्य गरिदिनुहोस् पाठ्यक्रम माथिको गतिरोध । पढ्ने लेख्ने हाम्रो अधिकार, यस्तो विषयमा तिमी बन जिम्मेवार । पढ्ने लेख्ने हाम्रो दायित्व–समयमा न्याय दिने तिम्रो दायित्व लगायतका प्लेकार्ड प्रदर्शन एवं नारा समेत विद्यार्थीहरूले लगाएका थिए । सराकारले गम्भीर भएर नसोच्दा लाखौं विद्यार्थीहरूको भविष्य अन्यौल भएको भन्दै विद्यार्थी परिषद्ले देशभरका विद्यार्थी, शिक्षकलाई आन्दोलनका लागि समेत आह्वान गरेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू