सोमवार, साउन ११, २०७८
विचार समाचार

संविधान संशोधन र भारत–नेपाल सम्बन्धबारे नेताहरुको धारणा

दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्छ ः खनाल

काठमाडौं, ४ असोज । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले भने,‘दशैंअघि नै संशोधन अघि बढ्छ, संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो ।’
साक्षात्कारमा खनालले संशोधन प्रस्ताव दर्ता गर्नको लागि मात्रै नभएर यसले निकास दिनेगरि अघि बढाउन सरकार गम्भिर रहेकोले केही समय ढिला भएको स्पष्ट पारे । उनले अघि थपे,‘प्रस्ताव अपरिपक्व नहोस भनेर हामी गम्भिर छौं, दर्ताको लागि मात्रै दर्ता नगरेर हामी संशोधनमार्फत समस्या समाधान होस भन्ने पक्षमा छौं ।’ संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलहरुवीच अहिले सघन वार्ता तथा छलफल भैरहेको पनि उनको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणलाई लिएर पक्ष र विपक्षमा भैरहेको बहस सामान्य भएको उनको टिप्पणी थियो । प्रधानमन्त्री भारत जानुअघि जुन जुन विषयमा छलफल भएको थियो भ्रमण त्यही विषयमा केन्द्रित रहेको खनालको दाबी छ ।
प्रधानमन्त्रीको भारत भ्रमसँगै चिसिएको नेपाल–भारत सम्बन्ध सुधार भएको समेत उनको विश्वास छ । उनले अघि थपे, ‘चिसिएको सम्बन्ध सुधार भएको छ, र विगतमा भएका द्धिपक्षीय सम्झौताहरुको कार्यान्वयनमा आउनेछ ।’
भारतले नेपालको संविधान कार्यान्वयन गर्दै अघि बढ्न भन्नु नै उसले संविधानको स्वागत गरेको खनालको दाबी थियो । ‘संविधान कार्यान्वयन गर्दै नेपाल अघि बढोस भन्नु नै संविधानको स्वागत हो नि,’ उनले थपे । यद्धपी उनले भारतले निमेलका कुराहरु मिलाउँदै अघि बढ्न समेत आग्रह गरेको बताए ।
उनले मधेशी, जनजाति, थारु, आदिवासी लगायतका मुद्दालाई सम्बोधन गर्नपनि संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा आफ्नो पार्टीले पहिलेदेखि नै आवाज उठाएको उल्लेख गर्दै जतिसक्दो मिल्ने कुरामा संशोधन गर्न सरकार तयार रहेको बताए । खनालले थपे,‘सबैको अपनत्व भयो र आवाज सम्बोधन भयो भने मुलुकको आन्तरिक राष्ट्रियता पनि बलियो हुन्छ ।’
संविधान दिवसका दिन असन्तुष्ट पक्षहरुले कालोदिवस मनाएर विरोध गरेपनि वार्ता तथा सम्वाद अहिलेपनि जारी रहेको उनले जनाए ।
प्रधानमन्त्रीको भारत भ्रमणले द्धिपक्षीय सम्बन्धमा न्यानोपना आयोे
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारतवीचको चिसोपनालाई न्यानो बनाउन सफल भएको स्पष्ट पारेका छन् ।
उनले अघि थपे,‘द्धिपक्षीय चिसोपनालाई न्यानो बनाउन सफल भएको छ, यसमा मानेमा पनि भ्रमण सफल भएको छ, यो स्वागतयोग्य कुरा हो ।’ यद्धपी उनले सम्बन्धबारे सन्तोष मानेर हाईसञ्चो भएर बस्न नहुने तर्क समेत गरे ।
संविधानलाई कामयावी बनाउनको लागि पनि असन्तुष्ट पक्षहरुको चासो र ध्यानलाई बेवास्ता गर्न नहुने अध्यक्ष राणाको भनाई थियो । उनले मधेशी मोर्चाको प्रमुख मुद्दा नै प्रदेशको सिमांकन भएकोले यसबारेमा पनि मिलनविन्दु खोज्न सकिने बताए ।
उनले संविधान कार्यान्वयनको लागि धेरै जटिलताहरु रहेको भन्दै त्यतातिर सबैको ध्यान जान जरूरी रहेको बताए । राणाले अघि थपे,‘१३० वटाभन्दा बढि ऐनहरु पारित गर्नुपर्ने छ, तीनवटै निकायको चुनाव गराउनुपर्नेछ, कामहरु एकदमै द्रुत गतिमा अघि बढाउनुपर्छ ।’
स्थानीय निकायको चुनाव घोषित मितिमै सम्पन्न गर्नको लागि पनि हालकै गाउपालिकालाई आधार मानेर चुनावमा जानुपर्ने उनको सुझाव थियो । उनले अघि थपे,‘स्थानीय निकाय पूर्नसंरचना आयोगले अघि सारेको ५६५ को संख्या स्विकार्य छैन, पूरानै संख्यालाई आधार मानेर चुनावमा जान सकिन्छ ।’

एमालेविना संविधान संशोधन हुनै सक्दैन

नेपाली काँग्रेसका युवा नेता चन्द्र भण्डारीले प्रमुख राजनीतिक दलहरुको सहमतिविना संविधान संशोधन हुनै नसक्ने ठोकुवा गरेका छन् । नेता भण्डारीले भने,‘एमालेविना संशोधन हुनै सक्दैन्, प्रमुख दलहरु एक ठाउँमा आउनुपर्छ ।’
भण्डारीले प्रदेशको सिमांकन त्यहाँको जनतालाई नै सोधेर गर्नुपर्ने धारणा राखेका छन् । उनले भने,‘झापाका जनता कहाँ बस्छन्, वा ईलामका जनता कहाँ बस्छन् भन्ने कुरा त्यहीँका जनतालाई निर्णय गर्न दिनुपर्छ, कसैले निर्णय गर्ने कुरा होईन् ।’
प्रधानमन्त्रीको भारत भ्रमण सफल वा असफल भन्नु भन्दापनि अहिलेसम्म नेपालले छिमेकीसँग गरेका सम्झौताहरु कार्यान्वयन नभएको गुनासो पोखे । उनले अघि थपे,‘तराईका सिमानाहरु ढलेका छन्, कोही उठाउनेबारेमा कुरा गर्दैनन्, सिमामा बस्ने नेपालीहरु दुःखमा छन्, त्यसमा कसैको ध्यान जाँदैन्, यहाँ प्रदेशको कुरा गरिन्छ ?’
भण्डारीले मधेशी मोर्चाले भनेजस्तो नागरिकताको प्रावधान संशोधन हुनै नसक्ने समेत ठोकुवा गरे । उनले थपे,‘सिमाको सूरक्षा गरेर बस्ने मधेशी जनतालाई माथि उठाउने काम गर्नुपर्छ ।’
एमाले निर्जीव ढुँगा होईन, चित्तबुझ्दो प्रस्ताव आए संशोधनमा विचार गर्छौ
नेकपा एमालेका नेता सत्यनारायण मण्डलले राष्ट्रिय राजनीतिमा एमालेलाई एक्ल्याउने काम भएको टिप्पणी गरे । उनले अघि थपे,‘अहिले राष्ट्रिय राजनीतिबाट एमालेलाई एक्ल्याउने काम भैरहेको छ, एमाले पनि मधेश, पहाड र हिमालमै आधारित पार्टी हो ।’
उनले सत्तापक्षले संविधान संशोधनबारे चित्तबुझ्दो प्रस्ताव ल्याए एमालेले विचार गर्ने स्पष्ट पारे । मण्डलले थपे,‘हाम्रो पार्टी राष्ट्र र जनताको हितमा छ, त्यसबाट दायाँबायाँ हुँदैन् ।’
उनले मधेशी मोर्चाले भनेजसरी नागरिकताको प्रावधानमा संशोधन हुनै नसक्ने अडान लिए । त्यस्तै जनसंख्याको नाममा भूगोललाई समाप्त पार्ने काम आफ्नो पार्टीले कुनै हालतमा गर्न नदिने समेत उनको जिकिर थियो ।

५२ वटा धारा उपधारामा संशोधन गर्नुपर्छ

unnamed-3संघीय समाजवादी फोरम नेपालका संसदीय दलका उपनेता लालबाबु राउतले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन नसकेको गुनासो पोखे ।
सरकार गठनको पूर्वसन्ध्यामा मोर्चा र काँग्रेस–एमाले गठबन्धनवीच भएको तीन बुँदे सहमतिको स्पिरिट अनुसार संविधान संशोधन प्रक्रिया अघि नबढेको उनको आरोप छ ।
राउतले संविधानमा ५२ वटा धारा उपधाराहरु बाझिएको भन्दै प्रदेशको सिमांकन, लैगिंक विभेदको अन्त्य, नागरिकता, भाषिक समस्या, समावेशी समानुपातिक, राष्ट्रिय सभा, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, न्यायपालिका, आयोग गठन लगायतका प्रवाधाहरुमा संशोधन गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीको भारत भ्रमण अहिले नै सफल वा असफल भनेर मुल्यांकन गर्न नसकिने भन्दै त्यसको समिक्षा आगामी दिनमा सरकारको गतिविधिबाट थाहा हुने बताए । यद्धपी उनले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावको भ्रमण रहेको स्पष्ट पारे ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू