बुधबार, असार २, २०७८
प्रेरक व्यक्तित्व समसामयिक समाचार साहित्य र कला

‘गुम्बा निर्माण र फिल्म क्षेत्र दुबै समाजसेवाकै अंग हुन्’ : फूलमाया स्याङबो

२०३१ सालमा मकवानपुरमा बुबा रामबहादुर स्याङबो र आमा कान्छीमाया थोकरको कोखबाट जन्मनु भएका फूलमाया स्याङबोले औपचारिक शिक्षा ग्रहण गर्नु भएको छैन तर तामाङ कला, संस्कृति प्रति उहाँको धेरै लगाव छ । त्यसैले तामाङ संस्कृतिको विकासमा आफ्नो तर्फबाट केही योगदान दिन उहाँ गुम्बा निर्माण गर्ने योजनाका साथ क्रियाशिल हुनुहुन्छ भनें तामाङ कला, संस्कृतिलाई फैलाउन चलचित्र निर्माण कार्यमा समेत सम्लग्न हुनुभयो । उहाँले निर्माण गर्नु भएको चलचित्र “सिसियाङ्बा जूनी”को च्यारिटी शो को व्यवस्थापन कार्यमा व्यस्त हुनुहुन्छ ।

सानैदेखि चाडपर्व, धार्मिक भजन, किर्तन, पूजामा नाच्न मन पराउनु हुने फूलमाया संगीत प्रेमी पनि हुनुहुन्छ । उहा उदित नारायण झा र दीपा झाका तथा किशोरकुमारका गीतहरुका साथै तामाङ सेलो सुन्न रुचाउनुहुन्छ भनें तामाङ गायक विश्व दोङ र अमृत लामाका गीतहरु पनि मनपराउनु हुन्छ ।

फूलमायाको विवाह २०५४ सालमा चन्द्रगीरिका सुमन थोकरसँग भएको थियो भनें उहाँहरुको लक्ष्मि र सोनम दुई छोरी तथा सुरज र छिरिङ दुई छोरा हुनुहुन्छ ।

फूलमायाले आफू जन्मे हुर्केको ठाउँ मकवानपुरको कुलेखानिमा प्रसिद्ध धार्मिक स्थल नभइकोले त्यहाँका आम जनताहरुको धार्मिक भावनाको सम्मान गर्दै आश्थाको केन्द्र निर्माण गर्नका लागि गुम्बा बनाउने योजना बनाउनु भएको छ । बुद्ध धर्मका बारेमा स्थानीय जनतालाई गहिरो ज्ञान दिन पनि एउटा गुम्बाको आवश्यकता रहेको उहाँको दृढ विश्वास रहेको छ । त्यसैले गुम्बा निर्माणका लागि उहाँ सक्रियताका साथ कार्य गरिरहनु भएको छ ।

गुम्बा निर्माणका लागि उहाँका बुबाले ४ रोपनि जग्गा दिनु भएको छ । त्यसै स्थानमा गुम्बा बनाउन प्रसिद्ध अवतारी लामा लोप्साङ नाम्गेल रिम्पोछेको सहयोगमा लामाहरु लगेर पुजासमेत आयोजना गरिसक्नु भएको छ । गुम्बा निर्माण कार्यलाई व्यवस्थित रुपमा अगाडि बढाउन यसै वर्षको अन्तमा स्थानीय जनताहरुको बीचमा व्यापक छलफल कार्यक्रम समेत आयोजना गर्दै हुनुहुन्छ ।

सामुदायिक र धार्मिक जागरणका लागि गुम्बा निर्माण आवश्यक रहेको दृढता व्यक्त गर्नु हुने फूलमाया ८ वर्षको उमेरमा ७ दिनसम्म सिकिस्त विरामी पर्नुभयो । बाँच्ने आशा मारेर अन्तिम संस्कारका लागि कपडा किन्ने, लामा बोलाउने तयारी भईरहेको थियो तर उहाँ बाँच्नु भयो । यस घटनाले उहाँलाई दैवि शक्तिप्रति आश्था बढायो । आफू दैवि कृपा बाट बाँचेकोले धार्मिक क्षेत्रमा कार्य गर्ने ईच्छा पनि उहाँको बलियो रहेको छ । मानव जूनी अमूल्य जूनी भएकोले आफ्नो समुदाय र समग्र मानव जातिकै लागि जीवनमा केही सत्कर्म गर्नुपर्ने उहाँको दृढ विश्वास रहेको छ । त्यसै विश्वासले उहाँलाई तामाङ समुदायको उत्थानका कार्यमा लाग्न प्रेरणा दिएको छ । समाजमा महिला विरुद्ध हुने गरेका हिंशा पिडितहरुलाई सहयोग गरिरहनु भएको छ ।

गुम्बालाई समुदायको आश्था बचाउने र सामुदायिक सेवा गर्ने केन्द्र बनाउने उहाँको धोको रहेको छ । त्यसैले पूmलमाया आफ्ना ४ सन्तानको मात्र होईन सेवा र सत्कर्म गरी मानवजातिकै आमा बन्न लाग्नु पर्छ भन्ने मानवतावादी सोच बोक्नु हुन्छ ।

गुम्बा निर्माण कार्यमा अगाडी बढिरहनु भएको बेला उहाँलाई तामाङ समुदायको कथाव्यथा बोकेको चलचित्र निर्माण सम्मको प्रस्ताव आएपछि यहाँले यसलाई अवसरकै रुपमा लिनु भयो र सिसियाङबा जूनी नामक चलचित्र पनि बन्यो । च्यारिटि शो पछि दर्शकहरुले चलचित्र राम्रो बनेकोमा प्रशंसा गरेका छन् । मार्खू भेडेटार, दामनको आनिगुम्बा, पनौति, भक्तपुर, धुलिखेल र गोकर्णमा सुटिङ गरिएको फिल्मका दृश्य र गरिवको बथाव्यथा, समुदायमा भएको राजनीतिक प्रभाव र विषालु च्याउ खान बाध्य परिवारका २ जना साना नानिहरु ीसकिस्त विरामी भए पछि घरखेत बेचेर उपचार गरेपनि निको हुन नसकेको तर परिवार थालथलोबाट विस्थापित भई चौतारिमा बास बस्नु परेको प्रसंगसँग जोडिएर आउने अस्पतालहरुले सेवाको नाममा पैशा मात्र कमाउने व्यवसाय गर्ने गरेको प्रसंगहरु समेटेर बुनिएको कथावस्तु दर्शकले धेरै मन पराएका छन् । उहाँले चलचित्रको च्यारिटि शोबाट आएको पैसा मकवानपुरका ३ जना मृगौला पिडितको उपचारका लागि खर्च गर्नु भएको छ ।

१४ वर्षको उमेर देखि समाजसेवाको क्षेत्रमा कार्य गर्दै आउनु भएकी फूलमाया वास्तवमा तामाङ समुदाय र संस्कृतिको विकासका लागि कार्य गर्ने उत्कट अभिलाषाले गर्दा गुम्बा निर्माण र चलचित्र निर्माण दुबै क्षेत्रमा सक्रियताका साथ लागि पर्नुभयो । फिल्मको प्रदर्शनबाट आउने पैसा पनि उहाँले गुम्बा निर्माणमा लगाउने योजना बनाउनु भएको छ । त्यसैले उहाँ तामाङ कला संस्कृति र आश्थासँग जोडिएका विज्ञ तथा धर्मगुरुहरु, कलाकार, दर्शक सबैलाई यस पुण्य कार्यमा सहकार्य गर्नका लागि अनुरोध गर्नु हुन्छ ।

(काठमाडौं, माघ ५ गते शनिबार)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू