बुधबार, असार २, २०७८
प्रमुख समाचार प्रेरक व्यक्तित्व सामाजिक न्याय

सहयोगी मन, संघर्षशील जीवन : आङ कान्डु शेर्पा

२०३१ सालमा ओखलढुंगाको चुप्लुङ भञ्ज्याङमा जन्मनु भएकी आङ कान्डु शेर्पा बुबा आङ कामी शेर्पा र आमा किन्जु शेर्पाको ८ सन्तान मध्ये जेठी हुनुहुन्छ । २०५० सालमा पेम्मा साङगे लामासँग विवाह गर्नु भएकी आङ कान्डु शेर्पाको ३ छोराहरु हुनुहुन्छ ।

उहाँ सानै छँदा समाजमा छोरीलाई पढाउन हुँदैन भन्ने सोच थियो । त्यसैले गाउँकै स्कूलमा ५ कक्षासम्म घरको काम सकेर फुर्सदको समयमा पढे पनि त्यसभन्दा बढी पढ्ने अवसर पाउनु भएन । नेपाली भाषा नआएपछि विद्यालयमा साथिभाईले जिस्काउने गरेका थिए । साथिभाईले जिस्काए पनि उहाँले ५ कक्षा सम्म मिहिनेतका साथ पढ्नु भयो । ११ वर्षको उमेर देखि नै उहाँले बुबा आमालाई घरधन्दामा सघाउनु पथ्र्यो । आफू पछिका सात जना भाई बहिनीलाई स्याहार सुसार गर्दै, गोठालो जाने गर्नुहुन्थ्यो । आफूले गाउँको विद्यालयमा ५ कक्षा मात्र पढे पनि गाउँमा ५ कक्षा पढिसकेपछि गाउँबाट टाढा रंगनीमा पढ्न गएको भाईलाई हप्ता दिनभरीको लागि घिउ, खानेकुरा लिएर उहाँ धेरै पटक जानु भएको थियो । आफूले पढ्न नपाए पनि भाईले पढेकोमा उहाँखुसी हुनुहुन्छ । उहाँलाई ५ कक्षासम्म पढेको ज्ञानले पारिवारिक तथा व्यवसायको हिसावकिताब राख्न सजिलो भएको छ । संस्थागत जिम्बेवारी पुरा गर्न सक्नु भएको छ ।


आफ्नो जन्मस्थान, माइत भएकोले ओखलढुंगालाई असाध्यै माया गर्नु हुने आङ काण्डु शेर्पालाई त्यहाका भद्र भलाद्मी, समाजसेवीहरुले चेली सम्झेर माया र सम्मान दिईरहनु भएको छ । 


आङ कान्डु शेर्पाले गीत रचना पनि गर्नु भएको छ । २०६९ सालमा ढुकुटी चलचित्रमा धिरेन शाक्यसँग प्रहरीको भूमिकामा समेत अभिनय गर्नु भएको छ । राष्ट्रिय कलाकार डोल्मा ह्योल्मोले गाउनु भएको “कुरकुच्चा छोयो जामाले, छड्के आँखाले नहेर, गालि गर्छ आमाले” बोलको लोक भाकाको चर्चित गीतका साथै सामुहिक नृत्य गर्ने “हुरहुर दौंतरी हुरहुर” नादिङ गीत लेख्नु भएको छ । 


उहाँले अन्यायमा परेका महिला, दुःखी पिडित महिलाहरुलाई सहयोग गर्दै आउनु भएको छ । अनाथ अपांगहरुलाई पनि सहयोग गर्नु हुने उहाँ नेपाल होचापुड्का संघका सल्लाहकार समेत हुनुहुन्छ ।


उहाँको १९ वर्षको उमेरमा रामेछापमा मागी विवाह भयो । विवाहको कुरा घरमा चलेपछि उहाँले ३ वर्ष पछि विवाह गर्ने इच्छा राख्नु भयो तर घरको ठूलो छोरिको राम्रो तरिकाले विवाह गरे पछि अरु सन्तानको पनि कर्म चलाउन सजिलो हुने भन्दै विवाहका लागि उहाँका बाबु आमाले सम्झाउनु भयो । आङ काण्डुको विवाह राम्रो विधिले गरिदिने बरु अरु छोराछोरीको सामान्य किसिमले विवाह गरिदिने भन्दै आमाबाबुको बचन राखेर विवाह आङ काण्डुलाई धेरै फकाउनु भयो । तर पछि भाईबहिनिको पनि भव्य विवाहको तयारीमा आफैं खट्नु परेकोमा धेरै हाँसो उठेको अनुभव पनि सुनाउनु भयो । उहाँको विवाह भएको गाउँमा (हाल उमाकुण्ड गाउँपालिकामा पर्छ) सगरमाथा जाने बाटो भएकाले धेरै पर्यटकहरुको चहलपहल भईरहन्थ्यो । उहाँले त्यहाँ क्याम्पिङ प्लेस संचालन गर्नु भएको थियो । त्यहाँ टुरिष्ट, टे«किङ ग्रुप बस्थे । उहाँहरुको अर्को जंगल होटल पनि थियो । विदेशी पाहुनाहरुले स्थानीय खानाका परिकारहरु मनपराउँथे । जंगल होटलको नजिकै अलैंची बगानमा विदेशीहरु रमाउँथे । लालिगुराँस र स्थानीय परिवेशमा पर्यटकहरु खुसि हुन्थे । व्यवसाय राम्रैसँग चलेको थियो । कहिलेकाँहि बिरामी भएर आउने पर्यटकहरुलाई स्थानीय उपचार गर्नु पर्दथ्यो । हामी विदेशी भन्ने वित्तिकै धेरै पैसा भएको व्यक्ति सम्झन्छौं तर पैसा नभएको विदेशीलाई एकहप्तासम्म पाल्नु परेको अनुभव पनि उहाँलाई छ । उहाँ भन्नुहुन्छ सबै विदेशीसँग पैसा नहुने रहेछ । उहाँले आफ्ना छोराछोरी होटल चलाउँदै हुर्काउनु भयो ।

सानोमा गाउँको खाजा पसल, विवाह पछि रामेछापमा क्याम्पिङ प्लेस, जंगल होटल संचालन गरेको अनुभव, व्यवसायिक सिपबाट खारिनु भएकी आङ कान्डु शेर्पाले २०६४ सालमा उहाँले काठमाडौं बौद्धमा एभरेष्ट रेष्टुरेण्ट संचालन गर्नु भयो । २०७४ सालबाट जाँतो क्याफे एण्ड रेष्टुरेण्ट पनि संचालन गरिरहनु भएको छ । दुबै तर्फ गरी १० जनाले रोजगारी पाएका छन् । आफूले संचालन गरेको रेष्टुरेण्टमा रोजगार भएकाहरुले राम्रो जिविकोपार्जन गरिरहेका र काम सिकेर आफैं व्यवसाय गरिरहेको प्रति उहाँ खुसि व्यक्त गर्नुहुन्छ । उहाँले महिलाहरुलाई पनि व्यवसाय गर्न उत्प्रेरित गर्दै आउनु भएको छ । श्रीमानको खटनपटनमा मात्र महिलाले खान लाउन नपरोस् भन्ने सदिक्षा बोकेर आङ कान्डु उनीहरुलाई आत्मनिर्भर बनाउन प्रेरित गरिरहनु हुन्छ ।

अरुलाई सहयोग गर्न सँधैं अगाडि बढ्नु हुने आङ कान्डु शेर्पालाई व्यवसाय संचालनको क्रममा देशमा माओवादी सशस्त्र संघर्ष बढ्दै जाँदा व्यवसाय गर्न धेरै कठिन अवस्था आएको थियो । सशस्त्र द्वन्द्वका समयमा चन्दाका लागि दवाव आउँथ्यो । उहाँको श्रीमान शिक्षक हुनु भएकोले महिनाको ४ दिनको तलब चन्दा दिनु पथ्र्यो । माओवादी र सेना जम्काभेट भई भिडन्त हुने हो कि भन्ने त्रासमा बाँच्नु पर्ने अवस्था थियो । सशस्त्रद्वन्द्वको समयमा विद्रोहीको जगजगि बढेपछि विदेशी पर्यटकहरुको आवागमनमा धेरै कमि भयो । पर्यटकहरु आउन छोडे पछि व्यवसायमा धेरै घाटा व्यहोर्नु परेको थियो । २०६४ सालको पहिलो संविधान सभाको चुनावको पर्सिपल्ट उहाँहरु काठमाडौं आउनु भयो र बौद्ध टुसालमा एभरेष्ट रेस्टुरेण्ट सञ्चालन गर्नु भयो ।

उहाँको गाउँमा अहिले पनि पारिवारिक चिया खेति, अलैंची खेती छ । जडिबुटी औषधी चिलौटो र नेपाली कागज बनाउने लोक्ता खेति पनि छ । ७ वर्ष देखि निरन्तर रुपमा उत्पादन भईरहेको छ । कहिले काँही मौसमले साथ नदिए पनि अलैंचि खेतिले राम्रै मुनाफा दिईरहेको छ । गाउँमा शेर्पा टि ब्राण्डमा चिया उत्पादन भईरहेको छ भनें त्यसको विज्ञापन गरि बजारीकरण गर्ने प्रक्रिया पनि शुरु भईरहेको छ ।
आङ कान्डु शेर्पाले आफूले कम पढे पनि आफ्ना छोराहरुलाई धेरै पढाएर स्वावलम्बि बनाउन चाहनु हुन्छ । शिक्षाको महत्व बुझ्नु भएका उहाँले आफ्ना भाईबैनी पढाउन धेरै मिहिनेत गर्नु भयो । उहाँलाई आफ्ना छोराछोरीहरु मात्र होइन अर्काको छोराछोरीहरुले पनि राम्रो पढेको सुन्न पाउँदा खुसि लाग्छ । उहाँले गाउँबाट एसएलसी दिएर काठमाडौं पढ्न आएकाहरुलाई धेरै सहयोग गर्नु भएको छ । गाउँबाट आएका जेहेन्दार छात्रहरुलाई पढ्ने व्यवस्था गरिदिनु भएको छ । गाउँबाट एसएलसी दिएर खाडिमुलुकमा काम गर्न जाने तयारीमा रहेको नातिलाई सम्झाएर पढ्न उत्प्रेरित गर्दा अहिले नाति इन्जिनियर भएर जलविद्युतको क्षेत्रमा काम गरिरहेका र उनको पारिवारिक स्थिती पनि बलियो भएको देख्न पाएकोमा उहाँ खुसि व्यक्त गर्नु हुन्छ । ति इन्जिनियर जागिरमा प्रमोशनका लागि अझै पनि मिहिनेतका साथ पढिरहेका छन् भन्ने सुन्न पाउँदा उहाँलाई धेरै खुसि लाग्ने गरेको छ ।

श्रीमान गाउँको शिक्षक हुनु भएकोले आङ कान्डु शेर्पाले विद्यालयका विद्यार्थीहरुको सरसफाईमा विशेष ध्यान दिनुहुन्थ्यो । गाउँमा लामा कपाल भएका विद्यार्थीहरुलाई उहाँले धेरै पटक आफैंले कपाल काटि दिनु भएको छ । सरसफाईमा कम ध्यान दिने विद्यार्थीहरुलाई उहाँले नुहाईदिनु हुन्थ्यो । गाउँघरमा गरिव परिवारका छोराछोरीहरु बाबु आमाको व्यस्तताको कारणले सरसफाईमा उचित ध्यान नपुगेको बुझेकोले उहाँलाई बालबालिकाको सरसफाईमा ध्यान जान्थ्यो । कतिपय अवस्थामा कपाल काटेको नुहाएको आफ्नो बच्चालाई नचिनेर आमाहरु गाउँमा खोज्दै हिंडेका रमाइला प्रसंगपनि सुनाउनु भयो । विशेष गरि सुक्रबारका दिन आफूले बालबालिकाको सरसफाईमा ध्यान दिने गरेको र बालबालिकाको कपाल काटिदिएको तथा नुहाईधुवाई गरि तेल लगाइ दिएकोमा आमाहरु पनि मख्ख पर्ने गरेकोले त्यसबेला आफूलाई हौसला मिलेको बताउनु हुन्छ । उहाँले कपाल काट्नका लागि काठमाडौबाट फर्कदा सँधैं कैची किनेर लैजानु हुन्थ्यो । एक दिनमा ५ जनासम्मलाई कपाल काटि दिनु हुन्थ्यो ।

गाउँघरमा अहिले जाँदा पनि पहिलेका कुराहरु सम्झाएर दिदिबहिनिहरुले सम्मान गर्ने गरेको, भेटघाट गर्ने गरेकोले गाउँबाट टाढा भएजस्तो महशुष हुँदैन उहाँलाई । आफू खुसि भएर अरुलाई पनि खुसि दिनु पर्ने उहाँको धारणा रहेको छ । मिहिनेती भए खुसि पनि हुन सकिने बताउनु हुने उहाँ मिहिनेती बनेर आयआर्जनका क्रियाकलापमा सहभागि भई आत्मनिर्भर भएर खुसि बन्न महिलाहरुलाई बारम्बार उत्प्रेरणा दिईरहनु हुन्छ ।

उहाँले आफ्ना ३ जना छोराहरुलाई विदेशमा नपठाई स्वदेशमै व्यवसायि बनाउने लक्ष्य लिनु भएको छ । उहाँको जेठो छोरा सोनाम छिरिङ ट्रेकिङ गाईड तथा रेस्क्यु कार्यमा संलग्न हुनुहुन्छ । लाक्पा शेर्पा (काका) सँग मिलेर सोनामले ११ सय जना आर्मिका जवानहरुलाई समेत रेस्क्यु तालिम दिईसक्नु भएको छ । माईलो छोरा आङ निमाले उहाँलाई व्यवसायमा सहयोग गरिरहनु भएको छ । कान्छा छोरा आङ पाशाङ ११ कक्षामा अध्ययन गर्दै हुनुहुन्छ । आङ कान्डु शेर्पा (लामा)ले आफ्ना छोराहरुलाई देशमै कम्पनि स्थापना गरि काम गर्न उत्प्रेरणा दिईरहनु भएको छ । आफ्नै संस्कृति अनुसारका स्वच्छ, पोषिलो खानाको सुविधा दिएर रेष्टुरेण्ट संचालन गर्न छोराहरुलाई उत्प्रेरित गरिरहनु भएको छ ।

आङ कान्डु शेर्पाले गीत रचना पनि गर्नु भएको छ । २०६९ सालमा ढुकुटी चलचित्रमा धिरेन शाक्यसँग प्रहरीको भूमिकामा समेत अभिनय गर्नु भएको छ । राष्ट्रिय कलाकार डोल्मा ह्योल्मोले गाउनु भएको “कुरकुच्चा छोयो जामाले, छड्के आँखाले नहेर, गालि गर्छ आमाले” बोलको लोक भाकाको चर्चित गीतका साथै सामुहिक नृत्य गर्ने “हुरहुर दौंतरी हुरहुर” नादिङ गीत लेख्नु भएको छ । उहाले शेर्पा भाषामा गीत लेख्नु भएको छ भने शेर्पा भाषामा एउटा गीत गाउनु भएको छ । ओखलढुंगामा जन्मी रामेछापमा कर्मघर भएपनि उहाले २०७४ सालमा आफ्नो जन्मस्थल ओखलढुंगाा थोले देम्बामा पर्यटन विकासको उदेश्य लिएर राष्ट्रिय महोत्सवको परिकल्पना गर्नु भएको थियो । ३ दिनसम्म आयोजना गरिएको सो महोत्सवको उद्घाटन प्रथम महिला राष्ट्रपति विद्यादेवि भण्डारीबाट भएको थियो । महोत्सवमा राष्ट्रपतिलाई आयोजकको तर्फबाट काङ काण्डुले स्वागत खादा ओडाएर, ब्याच लगाईदिएर स्वागत गर्नु भएको थियो । सो महोत्सव गर्ने आफ्नो परिकल्पना महोत्सवका अध्यक्ष डेण्डी शेर्पा सहित कार्यसमितिको अथक प्रयासले सफलतापूर्वक सम्पन्न भएकोमा आङ काण्डुले खुसि व्यक्त गर्नु भयो ।

ओखलढुंगामा हुने सबै महत्वपूर्ण कार्यक्रमहरुमा उहाँले प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्दै आउनु भएको छ । आफ्नो जन्मस्थान, माइत भएकोले ओखलढुंगालाई असाध्यै माया गर्नु हुने आङ काण्डु शेर्पालाई त्यहाका भद्र भलाद्मी, समाजसेवीहरुले चेली सम्झेर माया र सम्मान दिईरहनु भएको छ । आङ काण्डुको सहयोगी भावनालाई बुझेर धेरै संघसंस्थाले जिम्बेवारी दिन प्रस्ताव ल्याउने गरे पनि आफ्नो व्यवसायिक र आफूले स्विकार गरिसकेका सामाजिक जिम्बेवारीलाई कुशलतापूर्वक सम्हाल्नका लागि सबै संघसंस्थाको प्रस्ताव स्विकार गर्न नसकेको तर बाहिरबाटै सक्दो सहयोग गरिरहनु भएको छ । उहाँले राजनीतिको बारेमा प्रश्न गर्दा राजनीतिक अनुभवको कथाहरु धेरै छ भन्नुभयो । जीवन लामो छ पछि पनि कुरा गरौंला भन्नु भयो । उहाले समाज सुधारक महिलाको रुपमा पनि धेरै कार्यहरु गर्नु भएको छ ।
सेवा नै धर्म हो भन्ने

भावना बोकेर सामाजिक सेवाको क्षेत्रमा समेत सक्रिय रहनु भएकी आङ कान्डु ‘शेर्पा धर्म संस्कृति, शिक्षा, कला’को क्षेत्रमा कार्य गर्ने रामेछाप शेर्पा किदुको कोषाध्यक्ष हुनुहुन्छ । यस संस्थाले २०७३ र २०७४ मा साँस्कृतिक प्रतियोगितामा दोश्रो स्थान जित्न सफल भएको थियो । यस संस्थाले ल्होछारका कार्यक्रमहरु पनि गर्दै आएको छ । उहाँ नेपाल शेर्पा महिला संघको सदस्य पनि हुनुहुन्छ । उहाँले अन्यायमा परेका महिला, दुःखी पिडित महिलाहरुलाई सहयोग गर्दै आउनु भएको छ । अनाथ अपांगहरुलाई पनि सहयोग गर्नु हुने उहाँ नेपाल होचापुड्का संघका सल्लाहकार समेत हुनुहुन्छ । उहाँ ओखलढुंगा थोले डेम्बा शेर्पा किदुको सदस्य पनि हुनुहुन्छ । यस संस्थाले ओखलढुंगावासी शेर्पाहरुलाई आवश्यक सहयोग गर्दछ । सेवाको भावना भए जहिले पनि सेवा गर्न सकिन्छ भन्ने दृढ विश्वास बोक्नु भएकी आङ कान्डु शेर्पा मुर्खहरुलाई पनि सम्झाएर परिवर्तन गर्न सकिने विश्वास व्यक्त गर्नुहुँदै समाजसेवालाई जीवनको अंग बनाउन सके सुखि र समृद्ध समाजका साथै समग्र देश नै सुखि र समृद्ध हुने धारणा व्यक्त गर्नु हुन्छ ।

(लेखन : रबिराज रिमाल) 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू