सोमवार, साउन ११, २०७८
राजनीति समाचार

तरुण दलको ६६औँ स्थापना दिवस मनाउँदै

१० कात्तिक २०७६, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ ।

तरुण दलले आज बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।

२०१० कात्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए । त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो ।

यद्यपि, विभिन्न नाममा युवा सङ्गठित हुँदै निरंकुश राजतन्त्रविरुद्ध आन्दोलनरत थिए । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको अध्यक्ष बस्नेतले बताए ।

२०५४ मा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल बस्नेत अध्यक्ष छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू