बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार समसामयिक समाचार

सूचनाको हकको बारेमा नागरिक जागरुक हुनुपर्नेमा जोड

१६ कार्तिक २०७६, काठमाडौँ । सूचनाको हकको बारेमा नागरिक जागरुक हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आज सकारात्मक विकास सञ्चार केन्द्रले आयोजना गरेको सूचनाको हकको प्रबलीकरण र स्थानीय तहको भूमिका विषयक प्रशिक्षण तथा छलफल कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सूचना आयोगका सूचना प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकले स्थानीय क्षेत्रको विकासमा समेत प्रभाव पर्ने भएकाले आम जनसमुदाय सूचनाको हकप्रति सचेत हुनुपर्नेमा जोड दिए । स्थानीय तहका गतिविधि र विकास पारदर्शी रुपमा सञ्चालन गर्न जनता आफैँ जागरुक हुनुपर्ने भएकोले सूचनाको हक जागरुक जनताको विशेष अधिकार भएको बताए ।

संघीय संसदका सांसद कृष्ण राईले सूचनाको हक संविधान प्रदत्त अधिकार भएकोमा जोड दिदै सूचनाको हकविना जनअधिकार अपूर्ण हुने बताए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले संविधानले दिएको अधिकारबारे जनसमुदायमा सचेतनाको अभाव भएकोले सूचनाको हकको प्रबलीकरण कार्यक्रमबाट जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नागरिक समाजका तर्फबाट बोल्दै कलाकार श्रीकृष्ण सिम्खडाले ऐनामा दाग लागेपछि अनुहार प्रष्ट नदेखिएको भन्दै सामाजिक अभियन्ता विकास कार्यकर्ता, पत्रकार, वुद्धिजिवी दाग नलागेको ऐना जस्तै हुनुपर्ने बताए ।

सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भिम लामाले स्थानीय तहका गतिविधिहरु पारदर्शी बनाउन जनचेतना जगाउने उद्देश्यले सूचनाको हकको प्रबलीकरण प्रशिक्षण आयोजना गरेको बताए । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आयोजित सो कार्यक्रममा प्रशिक्षकको भूमिका निभाउदै सञ्चारकर्मी तथा प्रशिक्षक नवराज चालिसे र सोही संस्थाका अध्यक्ष लामाले सूचनाको हक र आम नागरिकको पहुँचमा सूचना प्रवाह बारेमा प्रशिक्षण दिएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू