शनिबार, बैशाख ४, २०७८
समसामयिक साहित्य र कला

गाउँले केटीको साहस

 

भीममाया महर्जन (भावना)


म गाउँले केटी
शुद्ध, शान्त र ऐतिहासिक घटनापूर्ण वातावरणमा हुर्केकी
पवित्र सोझो मन भएकी, धर्म, संस्कार र जिज्ञासा भएकी
भावी उज्वल नेपाल हेर्न लालायित म
उच्च शिक्षा हासिल गर्न शिक्षितहरुको संगत गर्ने
सत्संगत गरी इहलोक र परलोकको ज्ञान लाभ गर्ने
नैतिक एवं राजनीतिक चेतना विकास गर्ने
देशभक्त भै सार्वभौमिकता संरक्षण गर्ने
ठूलो इच्छा आकांक्षा बोकेर
मर्नै परेपछि खुट्टा तानेर मर्न अठोट गरेकी
गाउँबाट शहर झरेकी
म सोझी गाउँले केटी

तर मेरा सबै सपना चकनाचुर भए
शहरमा शिक्षितहरु पनि भ्रमवादी
नेताहरु अवसरवादी
मन्त्रीहरु झन् अवसरवादी
भिक्षु सन्यासीहरु सामाजिक पलायनवादी भएको देख्दा
आदर्शवादको खोजी गर्दा गर्दै थाकेकी छुँ
अब मेरो नयाँ परिचय
थकित गाउँले केटी ।

तर म निराशावादी छैन
अनगीन्ति ताराले रातमा उज्यालो दिंदैनन्
एउटै चन्द्रमाको उज्यालोले मलाई आशावादी बनाउँछ ।
बुद्धभूमिको चेली म
नारी शक्तिको प्रतिक
माता हारतीको अंश
आमाको आर्शिवादले दन्केको लक्ष्यज्योती बोकेर
भौंतारीरहेकी गाउँले केटी

खबरदार
भारतको पिठ्ठू नहोउ
अमेरिकसँग नडराउ
नेपालको सिक्किमिकरण नहोस्
स्वाधिन रहोस् मेरो देश
मनकामना माइको वरदान
कुमारी माको आर्शिवाद
सिद्धिकालीको शक्ति
कालभैरवको भव्य दिव्यता
बुझौं, बुझाऔं, नेपाल समृद्ध बनाऔं ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू