शनिबार, बैशाख ४, २०७८
प्रेरक व्यक्तित्व समाचार

बाल अधिकार अभियन्ता तथा समाजसेवी तिल बहादुर कार्की

काठमाडौं । २०२९ सालमा पाँचथरमा जन्मनु भएका बाल अधिकार अभियन्ता तथा समाजसेवी तिल बहादुर कार्कीले बिगत ११ बर्ष देखि संयुक्त अपाङ्ग एकता आवाज केन्द्र सञ्चालन गर्नु भएको छ । केन्द्रमा अहिले ४५ जना असहाय, अनाथ अपाङ्ग, द्वन्द्वपिडित, बाढिपिडित, भुकम्पपिडित बालबालिकाहरु रहेका छन् । तिल बहादुर कार्की संस्थाका अध्यक्ष हुनुहुन्छ । अध्यक्ष तिल बहादुर कार्की जन्मदा हात खुट्टामा ६–६ औंला भएको कारणले उहाँको आमालाई गाउँलेहरुले अलच्छिना भन्दै कुरा काट्थे । आफू अपांग जन्मिएकै कारण आमाले धेरै गालि, वेइज्यति सहनु परेको उहाँ स्वयंले देख्नु भयो । हुर्कदैं बढ्दै जाँदा सबै कुरा बुझे पछि तिल बहादुरले जीवनसँग हारेर आत्महत्या गर्ने सम्मको सोच पनि बनाउनु भयो । तर आज उहाँ स्वयं धेरै जीवनहरुको भविष्य उज्वल बनाउन लागि पर्नु भएको छ ।

१० वर्षको उमेरमा उहाँ भागेर काठमाडौं आउनु भयो । उहाँले २५ बर्ष सम्म पशुपतिनाथ र बौद्ध क्षेत्रको सडकपेटीमा मागेर जम्मा गरेको पैसा साथिहरुले चोरेर हैरान पार्ने गरेकोले पैसा बचाउन पशुपतिको जंगलमा माटोमुनी गाड्न थाल्नु भयो । एकरात सपनामा भगवानले दुःखी गरिवहरुको सेवा गर्न भनेपछि उहाँले समाजसेवाको क्षेत्रमा कार्य गर्ने उदेश्यका साथ स्थानीय प्रहरीको रोहवरमा पशुपति जंगलमा गाडेको पैसा निकाल्नु भयो । कागजका नोट कुहिए पनि सिक्का पैसा ५ लाख भन्दा बढी जम्मा भईसकेको रहेछ । त्यही पैसाले २०६४ सालमा संस्था स्थापना गरी उहाँले आफु जस्तै अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाइ आश्रय दिएर उनीहरुको अभिभाबक बनि गास बास कपास र शिक्षा दिने कार्य सुरु गर्नु भयो । अहिले कार्की सस्थामा आश्रित बालबालिकाहरुको एक असल अभिभाबक बनेर उनीहरुको भबिष्य उज्जवल बनाउन दिन रात लागि पर्नु भएको छ । आफु मरेर गए पनि संस्थामा आश्रित बालबालिकाहरुको भबिष्य उज्ज्वल होस् भन्दै संस्थाको स्थायि घर निर्माण गर्नका लागि सहयोगी दाताहरुको खोजि गरिरहनु भएको छ । उहाँलाई जीवनमा केही तलमाथी भईहाले आश्रित बालबलिकाको भविष्य के होला भन्ने चिन्ताले सताईरहने बताउनु हुन्छ । सहयोगि दाताहरुको सहयोगमा गोकर्णमा भाडामा लिएको जग्गामा अब ७ वर्षका लागि बस्ने अवस्था रहेपनि त्यसपछि बालबालिकालाई कहाँ राख्ने भन्ने चिन्ता गर्नु हुन्छ । त्यसका लागि उहाँ संस्थाकै नाममा घर जग्गाको व्यवस्था गर्न सहयोगीको खोजिमा हुनुहुन्छ ।

शुरुमा उहाँले काठमाडौँ कपनमा संयुक्त अपाङ्ग एकता आवाज केन्द्र सञ्चालन गर्नु भयो । बहत्तर सालको विनाशकारी भुकम्पले कपनमा बसेको घरमा क्षति पु¥याएपछि उहाँ बालबालिकाहरुसँगै ६ महिना पालमा बस्न बाध्य हुनु भयो । पछि देश विदेशमा रहेका विभिन्न व्यक्ति, दाता र सहयोगीहरुको सहयोग जुटाउँदै गोकर्णमा जग्गा भाडामा लिएर १४ कोठे आधुनिक पक्कि टहरामा केन्द्र संचालन गरिरहनु भएको छ । केन्द्रमा ४५ जना बालबालिकाहरु आश्रित रहेका छन् । तत्कालका लागि अहिले बसेको स्थानमा कार्यालय हल र बालबालिकालाई अध्ययनमा सहयोग पुग्ने भएकोले पुस्तकालय निर्माण गर्न आवश्यक रहेको छ । त्यसका लागि पनि उहाँ सहयोगीको खोजिमा हुनुहुन्छ । तर संस्थाको स्थायि घर नभएकोले आफ्नो जीवन तलमाथी भईहाले संस्थाका बालबालिकाको भविष्य के होला भनेर उहाँ चिन्तित हुनुहुन्छ ।

यस संस्थामा आश्रय लिएका बालबालिकाहरु स्वावलम्बि नभएसम्म संस्थाले आश्रय दिईरहने सोच रहेको बताउनु भयो ।
त्यसैले उहाँ सहयोगी मनहरुलाई संस्थाको आफ्नै भवन निर्माणमा सहयोग गर्न आग्रह गर्नु हुन्छ । सरकारलाई पनि सस्तोमा सामाजिक कार्यका लागि सहयोग पुग्ने भएकोले घर बनाउन जग्गा उपलब्ध गरि सहयोग गर्न आग्रह गर्नु हुन्छ । संस्था स्थापना देखि सरकारका तर्फबाट सहयोग नपाए पनि यस वर्षबाट स्थानीय सरकारका तर्फबाट संस्थाका लागि तीन लाख सहयोग भएकोमा खुसि व्यक्त गर्दै संस्थाको आफ्नै घर निर्माणमा समेत सरकारबाट सहयोगको अपेक्षा गर्नु हुन्छ । नागरिकको संरक्षण राज्यले गर्नु पर्ने हो, हामीले राज्यलाई सहयोग गरिरहेका छौं । सरकारले पनि हामी जस्तो संस्थालाई निःशुल्क वा सहुलियतमा जग्गा उपलब्ध गरी घर निर्माण गर्न सहयोग गरोस् अध्यक्ष कार्की आग्रह गर्नुहुन्छ ।

(२०७६ कार्तिक १९/प्रस्तुती : रबि रिमाल)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू