ज्ञान बहादुर लामाको जन्म २०२१ सालमा रामेछापको साविक वेथान गाविस वडा नं ९ (हाल सुनापति गा.पा. ४) मा भएको हो । बुबा बखत बहादुर लामा र आमा लालगोरी लामाको ९ सन्तानमध्ये ज्ञान बहादुर जेठो सन्तान हो ।
सानै देखि चित्रकलामा रुचिराख्नु हुने ज्ञान बहादुर वरिष्ठ थाङका आर्टिष्ट हुनुहुन्छ भनें सफल थाङ्का व्यापारी पनि हुनुहुन्छ । २०५६ सालबाट ९ जना असहाय, अनाथ बालबालिका राखेर स्थापना गरिएको राष्ट्रिय अनाथ बालबालिका उत्थान गृह, रामहिटि, बौद्ध, काठमाडौंको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । हाल वित्तिय सेवाको क्षेत्रमा समेत सक्रियताका साथ लागिरहनु भएका लामा सामाजिक सेवाको भावनाले कार्य गर्दा रहेक क्षेत्रमा सफल भइन्छ भन्ने उदेश्यका साथ कार्य गर्दै आउनु भएकोले सबै क्षेत्रमा सफल व्यक्तित्व पनि हुनुहुन्छ ।
मानिसको जन्म अर्काको भलाईका लागि भएको बलियो विश्वास ह्दयंगम गर्नु भएका लामा भन्नुहुन्छ– “मानव चोला लिएपछि मानवका लागि केही गर्नै पर्छ । सेवाको भावनाले कार्य गर्दा सफल भईन्छ । स्वर्ग नर्क जे भने पनि यहि पृथ्वी हो । धर्म असल कार्य हो । त्यसैले बुद्धले असल कार्य गर्न सिकाउनु भयो । राम्रो कर्मको फल राम्रो हुन्छ । जीवनको परिक्षामा दुध खाने कि रक्सि मान्छेले छुट्याउन सक्नु पर्छ । दुध पोष्टिक हुन्छ तर रक्सि हानीकारक हुन्छ । जीवनमा सफलता पाउन धेरैको कुरा सुन्नु पर्छ तर निर्णय आफ्नो विवेकले गर्नुपर्छ ।”
उहाँ आफ्नो जीवनको सफलताको सुत्र असल कर्म र राम्रो व्यवस्थापनलाई मान्नु हुन्छ । असल कर्म र राम्रो व्यवस्थापनले सबै कार्य सफल हुने उहाँको दृढ विश्वास रहेको छ । हाल सुमो सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष रहनु भएका लामा भन्नुहुन्छ– “मनमा खोट र कपट नभए वित्तिय संस्थामा बसेर पनि राम्रा सामाजिक कार्य गर्न सकिन्छ । वित्तिय संस्थामा लाग्नु पनि सामाजिक कार्य नै हो । कुशल व्यवस्थापक भए जनताले सबै क्षेत्रमा धेरै सेवा पाउँछन् ।
आफूलाई समाजसेवामा लाग्न बुबाबाट प्रेरणा मिलेको बताउनु हुने लामाले २०४८ सालतिरबाट काठमाडौंमा सडक बालबालिकाहरुको दयनीय अवस्था देखेपछि त्यस्ता बालबालिकाहरुलाई सहयोग गर्ने कार्यको थालनि गनु भयो । २०५६ सालबाट त बौद्ध रामहिटिमा संस्थानै संञ्चालन गर्नु भयो । ९ जना बालबालिकाबाट शुरु भएको संस्थाले अहिलेसम्म १६० जना भन्दा बढी बालबालिकालाई संरक्षण गरी आत्मनिर्भर हुने अवस्थासम्म पुराईसकेको छ । राष्ट्रिय अनाथ बालबालिका उत्थान गृहमा आश्रय लिएका बालबालिकाहरु संस्थाकै संरक्षणमा पढेर कोही अष्ट्रेलिया पुगिसके भने कोही इन्जिनियरिङ गरिहेका छन् । आत्म निर्भर र योग्य नागरिक बनाउने उदेश्यका साथ संस्थाले अनाथ, असहायहरुलाई संरक्षण गर्ने नीति लिएको लामा बताउनु हुन्छ ।
ज्ञान बहादुर लामाले सेवाको कर्म मात्र गर्नु हुँदैन । त्यस्ता सेवाको गहिराईबाट आएको भावनालाई लेख्नु पनि हुन्छ । यसरी उहाँले केही बालगीत समेत लेख्नु भएको छ । जुन गीत रेडियो नेपालमा समेत रेकर्ड भएका छन् । एक पटक दोलखामा घुम्न जाँदा एउटा गरिब परिवारको एक्लो छोरो विद्यालय पढ्ने तर छोरीहरु पढ्न जान नपाउने अवस्था देखेर लामा दुःखी हुनु भएछ । उहाँले छोरीहरुलाई पढ्न जाने मन छ कि छैन भनेर सोध्नु हुँदा बालिकाहरुले पढ्न धेरै मन छ तर बुबा आमाले नपढाउनु भएको बताए पछि उहाँले बुबा आमालाई अगाडि राखेर छोरा पढाउने तर छोरी नपढाएको कारण सोध्नु भएछ । घरको आर्थिक अवस्था कमजोर भएको र दिदिहरुले घरको काममा सहयोग गर्ने हुनाले भाईलाई मात्र पढाएको सुने पछि उहाँले पढाई खर्च सबै व्यवस्थापन गरिदिनु भई किताव कापि समेत सकनेर दिनु भए पछि गरिब बालबालिबाले पनि पढ्न पाए पछि धेरै खुसि लागेको अनुभव सुनाउनु हुन्छ । उहाँले तिनै बालबालिकाको भावनालाई समेटेर–
आजका हामी कोपिला, भोलिका हामी फूल ।
हामीलाई पढ्न इच्छा छ , पठाई देऊ स्कूल ।।
छोरी हुनु दुर्भाग्य भो’, सबैको लाग्छ आँखा ।
छोरालाई पढाउने, छोरीलाई बनपाखा ।।
आजका ……..
बालगीत समेत सिर्जना गर्नु भयो । त्यसै गरी भोका सडक बालबालिकाको वेदनालाई समेटेर–
एक्लो मेरो जिन्दगी, कोही छैन सहारा ।
रात दिनको भोको छुँ म, छैन केही आहारा ।। बोलको बालगीत लेख्नु भयो । यि दुबै गीत रेडियो नेपालमा रेकर्ड गरिएका छन् र प्रसिद्ध पनि भए ।
याङटछेन ह्याण्डिक्राफ्ट मार्फत मौलिक परम्परागत थाङ्का व्यवसायमा समेत संलग्न हुनु भएका लामाले २०६६ सालमा ६१ फिटको बुद्धको चित्र अंकित नेपालकै ठूलो भगवान बुद्धको चित्र अंकित थाङका बनाउनु भयो । त्यसैगरी २०६६ सालमा नै ३०० फिट लम्बाईको थाङका समेत बनाउनु भयो जुन भारतको कर्णाटकको बेलाखोपीमा रहेको छ । परम्परागत मौलिक थाङकाको विकास र प्रवद्धर्नका क्रममा उहाँले परम श्रद्धेय धर्मगुरु दलाइ लामाको बाहुलीबाट सम्मान पत्र समेत प्राप्त गर्नु भएको छ भनें ३ पटक भेट्ने अवसर पनि पाउनु भएको छ । परम श्रद्धेय धर्मगुरु दलाइ लामाको बाहुलीबाट सम्मान पत्र प्राप्त भएको र ३ पटक भेट्ने अवसरसमेत पाएकोमा उहाँ गौरवान्वित हुनुहुन्छ ।
बालबालिकाको क्षेत्रमा कार्य गरेकोले उहाँलाई हिमालयन नेपाली संस्थाले सम्मान गरेको छ । उहाँ अहिले ख्यातिप्राप्त विद्युत इन्जिनियर तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संस्थापक अध्यक्ष रहनु भएको २०५३–०५४ मा स्थापना गरिएको तामाङ मोईबो डाजाङको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।
सामाजिक सेवाको कार्यमा निस्वार्थ सरिक हुन आग्रह गर्नु हुने लामा अहिले बौद्ध धर्म संस्कृतिमाथी देखिएका विभिन्न हस्तक्षेप र लादिएका समस्याहरु समाधान गर्न धर्मगुरु, समाजसेवी, संघसंस्थाका प्रतिनिधि लगायत सबै पक्षलाई एकताबद्ध भएर समस्या समाधानका लागि अगाडि बढ्न आग्रह गर्नुहुन्छ । (प्रस्तुती /लेखन : रबिराज रिमाल, rrrimal@gmail.com)
Add Comment