आइतवार, चैत्र २९, २०७७
धर्म-दर्शन प्रमुख समाचार

छैटौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं, ७ असार, २०७७। जुन महिनाको २१औं तारिख अर्थात् असार ७ गते आज (आइतबार) देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व‍ सुशील कोइरालाले समर्थन गरेका थिए ।
यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् । संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ँ

‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै शुरु भएको छ ।

नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ । विसं २०३६ देखि उत्तरायण शुरु हुने माघ १ गते योग एवं प्राकृतिक चिकित्साका अनुसन्धाता डा हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योग दिवस मनाउन शुरु गरिएको हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू