मङ्लबार, जेष्ठ ४, २०७८
कृषि प्रमुख समाचार

नेपाली विज्ञको अनुमान : सलहले धेरै क्षति गर्दैन

काठमाडौँ, १५ असार २०७७ । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको मरुभूमिमा बस्ने सलहले ठूलो क्षति पुर्याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक अरू खासै क्षति गरेको छैन । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भन्नुभयो, “नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो । अब पनि क्षति गर्ने सम्भावना छैन ।’’

नेपालमा देखिएको सलह आफ्नै बासस्थान फर्किनेछन् या नेपालमै हराउनेछन् भन्दै उहाँले थप्नुभयो, हाल नेपालमा देखिएको कीराबाट आत्तिनुपर्ने अवस्था छैन तर भारतबाट अझै प्रवेश गर्‍यो भने समस्या हुनसक्छ। उहाँले भन्नुभयो, “वर्षाका कारण सलहले पटकपटक ठाउँ सारिरहेको छ। त्यही भएर क्षति भएको छैन। घाम उदायो भने उसलाई शक्ति प्राप्त हुन्छ र झुन्ड बनाएर उड्छ । त्यसले भने क्षति गर्छ तर पानी परिरह्यो भने विस्तारै आफैँ हराउँछ यद्यपि ढुक्क भने हुन सकिन्न।”

नेपालमा आएको सलहको झुण्ड भारत र पाकिस्तानको भन्दा धेरै सानो झुण्ड भएको नेपाली विज्ञहरुले बताएका छन् । हावाको वेगले उँडाएर सानो झुण्डमात्र आएको  विज्ञहरुको राय रहेको छ । भारत र पाकिस्तानमा सलहले धेरै क्षति गरेको छ । भारतबाट ठूलो झुण्ड नआए नेपालमा क्षति धेरै नहुने विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार अहिलेको नेपालको मौसम पनि मरुभूमिबाट आएका सलहको लागि उपयुक्त नभएकोले धेरै सक्रिय हुन सक्दैन र क्षति पनि कम हुन्छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले सलह नियन्त्रणका लागि गृहमन्त्रालयसँग समेत समन्वय गर्ने तयारी गरेको छ । अहिले सानो झुन्डमा आएको छ । भोलि गएर ठूलो झुन्ड आयो भने सुरक्षा संयन्त्रको पनि सहयोग लिनुपर्छ भनेर गृहमन्त्रालयसँग छलफल गरेको कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिनुभयो । प्रत्येक प्रदेशमा “टाक्सफोर्स” गठन गरिनुका साथै विषादी छर्नुपर्ने अवस्था आयो भने त्यसका लागि विषादी छर्किन दमकल, ट्याक्टर, स्प्रे, पीपीईलगायतका उपकरणको समेत व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू