शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार राजनीति संघीय खबर

नेकपा फूटको संघारमा, दल विभाजन अध्यादेश फेरी आउने भय

(१९ असार २०७७) काठमाडौं । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको अधिवेशन स्थगित गरेपछि आशंका र अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्रीले वैशाख दोस्रो साता ल्याएको राजनीतिक दल फुटाउन सजिलो हुने अध्यादेश फेरि ब्युँताउन खोजेको ओली इतर समूहको आशंका छ । बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश आउन सक्ने संकेत गरेको भन्दै प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन् ।

प्रधानमन्त्री ओलीले वैशाख १० गते संसदीय दलमा ४० प्रतिशत भए पनि दल फुटाउन सक्ने गरी अध्यादेश सिफारिस गरेका थिए । राष्ट्रपतिले पनि तत्काल अध्यादेश जारी गरेकी थिइन् । त्यही बेला ओलीमाथि प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न दबाव परेको थियो । तर पछि प्रधानमन्त्री ओलिले अध्यादेश फिर्ता गरे पछि संकट टरेको थियो ।

आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको कार्यक्रममा सरिक भएका प्रधानमन्त्री ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरुले पनि साथ दिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली फेरि विवाद र संकटमा परेका छन् । पार्टीभित्रको अन्तरविरोध साम्य हुनुको साटो झन् चर्किएको छ । प्रधानमन्त्री ओलीले बिहीबार संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि विवाद झनै चुलिएको छ ।

स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्नुपर्ने माग गरे पछि ओली दल विभाजनको अध्यादेश व्यँुताएर संसदीय दलमा ४० प्रतिशत पुर्याउने कसरतमा लागेको नेकपाका नेताहरुले आशंका गरेका छन् । यदी त्यस्तो भएमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपा एकताका सबै प्रक्रिया नटुँगिंदै टुक्रिनेछ ।

प्रधानमन्त्रीले अध्यादेश ल्याउँदिनँ भन्ने प्रष्ट वचन नदिएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न सिंहदरवार गए ।
भेटमा प्रचण्डले राष्ट्रपति पार्टीभित्रको राजनीतिक तानातानभन्दा माथि रहनुपर्नेमा प्रचण्डले जोड दिएका थिए। अघिल्लो पटक पनि सरकारले सिफारिस गरेको अध्यादेश तत्काल स्वीकृत गर्दा राष्ट्रपति स्वयंम, पार्टी र सरकार विवादमा पर्‍यो । हामीभित्रै पनि विवाद आयो’ भेटमा प्रचण्डले भनेका थिए, अब पनि अध्यादेश आयो भने २-४ दिन रोकिदिनुहोला । हामीसँग पनि परामर्श गर्नुहोला ।’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रचण्डले अहिले अध्यादेश आइसकेको छैन भन्ने जवाफ पाएका थिए ।

घटनाक्रमले नेकपा फूटको दिशामा रहेको प्रष्ट्याउँछ । बुधबार साँझ प्रचण्ड र नेपाल पक्षका ३० जना स्थायी कमिटी सदस्य झम्सिखेलमा भेला भएका थिए । सो भेलाले ओलीले दुवै पद छाड्नुपर्ने नेताहरूको माग अनुमोदन मात्र गरेन, पार्टीको निर्णय मान्छु भनेर आए मात्रै प्रधानमन्त्रीसँग वार्ता गर्ने शर्त राख्यो । त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाए । संघीय संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरी राष्ट्रपतिबाट स्विकृत समेत गराएको अवस्थामा प्रधानमन्त्री ओलीलाई दल विभाजन सम्वन्धि अध्यादेश ल्याउन सजिलो हुने आशंकाले बल पाएको छ । यसैको आधारमा नेकपा फुट्ने लगभग तय भएको विश्लेषण हुन थालेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू