सोमवार, साउन ११, २०७८
तीर्थ र पर्यटन समाचार

कोरोनाले पर्यटन क्षेत्रमा ३४ अर्ब नोक्सान

काठमाडौँ, २० असार । कोभिड- १९ सङ्क्रमण रोकथामका लागि जारी लकडाउनका कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्ब रुपियाँ बराबरको नोक्सान भएको मूल्याङ्कन सरकारले गरेको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनका समयमा सम्पादन गरेका कामको सार्वजनिक कार्यक्रममा चैत ११ गतेदेखि अहिलेसम्म सो बराबरको नोक्सान भएको मन्त्रालयले जनाएको छ । यस्तो नोक्सानी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब बढ्ने अनुमान पनि मन्त्रालयको छ ।

कोभिड-१९ का कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित हुँदा यसमा आश्रित जनतालाई असर परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । नेपालको पर्यटन उद्योगमा १० खर्ब रुपियाँभन्दा बढी लगानी देखिएको छ । यो क्षेत्रले साढे दुई लाखलाई प्रत्यक्ष र करिब आठ लाखलाई अप्रत्यक्ष रोजगारी पनि दिएको छ, उहाँले भन्नुभयो, कोभिडका कारण यति धेरैको रोजगारी खोसिएको छ । सरकारले नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणबाट यस क्षेत्रको नोक्सानीको मूल्याङ्कन गर्न समिति गठन गरेको थियो ।

पर्यटन क्षेत्रले व्यहोर्नु परेको क्षति न्यूनीकरण गर्न सरकारले बजेटमार्फत ५० अर्ब र एक खर्बको कोष ल्याएको मन्त्री भट्टराईले बताउनुभयो । त्यस्तै उहाँले पर्यटन क्षेत्रलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्छ भन्नेमा आफू सकारात्मक रहेको पनि जानकारी दिनुभयो । स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर होटल सञ्चालनका लागि तयार गरिएको प्राटोकललाई मानेर पर्यटन क्षेत्र खोल्न सकिन्छ, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डद्वारा पर्यटन प्रोटोकल तालिम शुरु 

नेपाल पर्यटन बोर्डले पर्यटन प्रोटोकोलसम्बन्धी डिजिटल तालिम शुरु गरेको छ । कोभिड १९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन बोर्डले जारी गरेको पर्यटन क्षेत्रको स्वास्थ्य सुरक्षा निर्देशिकालाई प्रभावकारी प्रयाग गर्न पर्यटन व्यवसायीहरूका लागि अनलाइन तालिम शुरु गरेको हो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बिहीबारदेखि शुरु भएको तालिममा छ सय जनाको सहभागिता रहने र आगामी दिनमा यो सङ्ख्या बढाउँदै लगिने बताउनुभयो ।

तालिम असार ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले जारी गर्नुभएको पर्यटन क्षेत्रका लागि स्वास्थ्य प्रोटोकोलमा आधारित रहेको पर्यटन बोर्डले जनाएको छ ।

पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किँदासम्म अपनाउनुपर्ने विषय प्रोटोकलमा समावेश छ ।

तलिमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउन तथा व्यवसायीबीच समन्वय गराई समग्र पर्यटन क्षेत्रको विकासका लागि समुचित वातावरण बनाउने विश्वास लिइएको कार्यकारी प्रमुख रेग्मीले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डले होटल सङ्घ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स् (नाटा) तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा तालिमको आयोजना गरिएको हो । आगामी दिनमा आवश्यकता अनुसार अन्य पर्यटन सङ्घसंस्थाहरूसँगको समन्वयमा प्रादेशिक स्तरमा समेत तालिमलाई अगाडि बढाइने पयर्टन बाेर्डले जनाएकाे छ । (साभार :  गोर्खापत्रअनलाइनबाट)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू