२४ असार, काठमाडौं । कोरोनाको कहर पछि दैनिक गुजारा चलाउन धेरैलाई मुश्किल छ । विशेष गरी दैनिक ज्यालादारी गरेर परिवार पाल्नु पर्नेहरुको अवस्था ज्यादै दयनीय रहेको छ । त्यतातिर राजनीतिक वृत्तमा चासो भए पनि व्यापक असन्तुष्टि देखिंदैन । तर कोरोना कहरको बीचमा आफ्नै दलका नेताहरुबाट आलोचित प्रधानमन्त्रीको पक्षमा देसैभरी सरकारको बचाउमा कार्यक्रम भईरहेका छन् ।
अझ यसका पछाडी नेकपाको भ्रातृ संगठन युवा संघ नेपालका नेताहरु पनि देखिएका र खासगरी पूर्व एमालेसम्वद्ध युवा संघका नेताहरु सहभागी भएका समाचारले युवाहरुको जोश कस्ता कार्यमा लगाउने संस्कृति विकास हुँदैछ भन्ने गम्भिर चिन्तन गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
१६ असारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसहित बोलेका १८ मध्ये १७ जना (ओलीबाहेक सबै) ले ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाए ।
भारतले साँच्चै हटाउन खोजेको भए त्यस्तो विषय बैठकमा राख्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको दाबीमा प्रश्न मात्र उठाएनन्, आफू बाहेक अरु नेताहरुलाई भारतीय एजेन्टका रुपमा प्रस्तुत गर्न खोजेको गम्भीर आपत्ति जनाए । ओलीले पार्टी र सरकार दुबै चलाउन नसकेको भन्दै उनीहरुले राजीनामा मागे ।
त्यसको दुई दिनपछि माइतीघर मण्डलामा सानो समूहले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन भएको थियो । अब यो प्रदर्शनलाई देशव्यापी बनाइएको छ । देशका विभिन्न सहरमा यस्ता प्रदर्शन बढ्दै गएका छन् । प्रधानमन्त्रीको कुर्सी जोगाउन वा पक्षमा यस्ता कार्यक्रम हुनु अहिलेको कोरोनाको कहरका बीचमा उनीहरुलाई कस्ले छुट दिएको छ ?
कोरोनाको कहरका बीचमा के यस्ता प्रदर्शन जायज छन् ? पार्टीका नेताहरु स्थायी समितिमा छलफल गरिरहेका बेला यस्ता प्रदर्शनहरु कस्को इशारामा भईरहेका छन् ? के यि प्रदर्शनकारीको माग भन्दा फरक ढंगले राजनीति विकास भए अहिलेका प्रदर्शनकारीहरुले के हिंसात्मक प्रदर्शन पनि गर्लान् ? सोच्न जरुरी छ । विशेष गरी सुरक्षा निकाय चनाखो हुन जरुरी छ ।
गणतन्त्रमा विधि, पद्धति बलियो बनाउनु पर्ने, अभ्यास गर्नु पर्नेमा पञ्चायतकालिन मण्डले संस्कृति कै झल्को दिने गरी भएको भनिएका यस्तो प्रदर्शनीको विर्सजन कसरी होला ? त्यसको स्वरुप परिवर्तन कस्तो होला ? केही समयपछि प्रष्ट हुनेछ । तर अहिले दवावको नाममा जे भईरहेको छ । न त्यो कोरोनाको कहरका बीच सुहाउने देखिन्छ । न त त्यो परिपक्व राजनीतिक अभ्यास नै हो भन्ने चैं प्रष्ट छ । (समाचार विश्लेषण : रविराज रिमाल)
Add Comment