२६ असार, काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको रहेछ ।’
तर भारतले कूटनीतिक नोट पठाएको विषयलाई परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा र्सार्वजनिक गरेको छैन ।
नोभेम्बर २०१९ मा भारतले जारी गरेको नक्सामा नेपाली भू-भाग परेको भन्दै नेपालले विरोध गरेको थियो । कूटनीतिक नोट पठाउनुका साथै दुई पटक वार्ताको प्रस्ताव पनि गरेको थियो, तर भारत तयार भएन ।
पछिल्लो पटक कोरोना महामारीको समयमा लिपुलेक क्षेत्रमा नेपाली भूभाग अतिक्रमण गरेर बनाएको मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले विरोध गर्यो । नेपालले तत्काल वार्तामा बस्न आग्रह गरे पनि भारत तत्काल वार्तामा नबसे पछि नेपाल नयाँ नक्सा जारी गर्ने निष्कर्षमा पुग्यो । त्यसअनुसार नेपालले जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । नेपालले जारी गरेको नयाँ नक्शाप्रति भारतले असन्तुष्टि जनाउँदै आएको छ ।
Add Comment