बुधबार, असार २, २०७८
प्रमुख समाचार समसामयिक

आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सरल नेपाली भाषामा रामायण लेखेर आचार्यले नेपालमा साहित्य र संस्कृतिलाई को विकासमा ठूलो गुन लगाएका छन् । अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहित लेखिएको ‘रामायण’ अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

आदिकवि भानुभक्तले रामायण रचना गरी नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका छन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

घाँसीले घाँस दाउरा गरेर आर्जन गरेको रकमले कुवा खनाएको जानकारी भानुभक्तलाई दिएका थिए । घाँसीको कुराले भानुभक्तको मन छोयो । अनि उनले कविता लेखे –
भर्जन्म घाँसतिर मन्-दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जे छन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरी आज दिएछ अर्ती ।
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।

उनका वधुशिक्षा’, प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृतिहरु छन् । आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोध गर्दै लेखेका थिए- ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू