बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय

तराईका जिल्ला बाढीको उच्च जोखिममा

सप्तकोशीको बहाव वर्षकै उच्च, सुनसरी र सप्तरीवासीलाई सुरक्षित स्थानमा जान आग्रह


साउन ६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझै तीन दिन वर्षा निरन्तर रहने जनाएको छ।  वर्षा सँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका सबै जिल्ला उच्च सतर्कतामा रहेका छन्।

तराईमा ४ दिनको झरीले केही ठाउँमा डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन। कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च रहेको छ।

बाढी पूर्वानुमान महाशाखाले भारीदेखि मध्यम वर्षा हुने क्रम जारी रहेकाले कोसी, नारायणी, कमला, महाकाली, राप्ती, स्थानीय खोला लगायतका नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्क रहन भनेको छ। पश्चिम कोसीमा बढ्दो नदी सतह, अरुण र तमोर नदीको बाढीको बहाव सतर्कता तहतिर बढ्दै गर्दा चिन्ता बढेको छ।

कोसीको भारतीय सीमा क्षेत्रमा भएको बाँधको कमजोर भागमा मर्मत सम्भार भइरहेको छ। भारतीय पक्षले आफ्नै व्यवस्थापनमा काम गरिरहेकाले नेपाल पक्षले निगरानी गरिरहेको छ । सप्तरीमा पानीको निकास नहुँदा बर्सेनि सहर र गाउँ डुबान हुने गरेको छ। तिलाठी र कोइलाठीतिर भारतीय सीमाको भूमि उच्च छ। नेपालतिर खाल्डो छ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले वर्षाले गर्दा कमला, बलान नदी तटका केही क्षेत्रमा हल्का डुबान देखिन थालेको उल्लेख गर्नुभयो। उहाँका अनुसार पूर्वतयारीको योजना जिल्ला विपद् व्यवस्थापन समिति योजना बनाएर कार्यान्वयन गर्ने तयारी अवस्थामा छ। स्थानीय तहबाट आफ्ना क्षेत्रमा जमेको पानीको निकास तत्काल निकाल्न सबै पालिकालाई अनुरोध गरिएको छ।

“कोभिड-१९ को सन्दर्भमा सञ्चालित क्वारेन्टाइन र आइसोलेसन सेन्टरसँग नबाझिने गरी तत्काल उद्धार गर्नुपर्ने अवस्थामा विद्यालय, सार्वजनिक स्थान र खुला स्थान तयारी अवस्थामा राखिएको छ,” उहाँले भन्नुभयो। त्यहाँका १७ स्थानीय तहमध्ये बाढी र डुबानको हिसाबले छवटा स्थानीय तह उच्च जोखिममा छन्। जसमा कर्जन्हा, सिराहा, कल्याणपुर, लहान, औरही र बरियारपट्टी स्थानीय तह रहेका छन्। नदीमा आउने बहावमा आएको रोकावटको कारण त्यस क्षेत्रमा बर्सेनि डुबान र बाढीको चपेटामा स्थानीयवासी पर्ने गरेका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार जनकपुर क्षेत्रमा केही स्थान डुबान भएका छन्। कमला, बाग्मती लगायतका नदीजन्य खतरा र डुबानको अवस्था सामान्य छ। तर वर्षा भइरहेकाले विपद्को सामना गर्न उच्च सतर्कतामा रहेको उहाँले बताउनुभयो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार त्यस क्षेत्रमा कोसीको बहाव बढ्दो अवस्थामा छ। कोसीमा एक लाख ७७ हजार ७९५ क्युसेक पानीको बहाव रहेको छ। आइतबार बिहान एक लाख ४५ हजार ८५० क्युसेक थियो। सतर्कता तहतिर बढ्दो रहेकाले कोसी तटीय क्षेत्रका गाउँपालिका सहित दुईवटा गाउँपालिका उच्च जोखिममा रहेको छ।

“जबसम्म बाँध फुट्दैन तबसम्म यस क्षेत्रमा डुबान हुँदैन,” उहाँले भन्नुभयो। तर स्थानीय ट्याङ्ग्रा, सर्दु, सुनसरी लगायतका खोलाको स्थानीय बाढीले केही असर गर्ने सम्भावना छ।

सप्तकोशीमा पानी खतराको तह भन्दा माथी

सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू