साउन ६, काठमाडौँ । निरन्तर वर्षाका कारण बाढी-पहिरोबाट देशभर ठूलो जनधनको क्षति भएको छ । राजधानी काठमाडौंमै पनि बाढीको असर देखिएको छ । यस वर्षको वर्षा सुरु भएदेखि नै काठमाडौँका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ ।
काठमाडौंको वागमति नदी किनारामा सुकुम्बासी बस्तिहरुमा पानी पसेको छ । सोमबार वागमतिको पानीले धेरै ठाउँमा किनारा नाघेको थियो । कीर्तिपुरको सुन्दरीघाट बागमतिको बाढीले डुबानमा पारे पछि १ दर्जन घरपरिवारले वस्ति छाडेका छन् ।
गोदावरी खोलामा आएको बाढीका कारण ललितपुरको टीकाथली र भक्तपुरको बालकोट क्षेत्रमा डुबानमा परेका छन् । बाढीले ललितपुरको यूएन पार्क पनि डुबानमा पर्यो ।
सोमबार काठमाडौं उपत्याकाको चोभार नजिकै जलविनायकमा आएको बाढीको वितण्डा देखेर स्थानीयहरु त्रसित बनेका छन् ।
ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बाढीको असर देखिएको छ । हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन्। भक्तपुरको राधेराधे क्षेत्रमा ४ फिटसम्म पानी नदी किनाराका घरमा छिरेको छ ।
सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका अधिकांश भूभाग डुबानमा परेका छन् ।
मौसम विज्ञहरुका अनुसार यस्तै वर्षा थप केही दिनसम्म निरन्तर भएमा राजधानी पनि बाढीको चपेटामा पर्नेछ । पछिल्ला वर्षमा बाढीले गर्दा काठमाडौँ लगायत विकसित सहरमा पनि जनजीवन प्रभावित पार्ने गरेको छ ।
Add Comment