बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय

साउन ८ गतेदेखि सार्वजनिक यातायात चल्ने

प्रतिकात्मक तस्विर

साउन ७, काठमाडौं । भोलि देखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले मङ्गलबार संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना मातहतका व्यवसायीले सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन्।

यसैगरी सरकारले मंगलबार राति १२ बजेदेखि आकस्मिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेको छ। सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । सार्वजनिक सवारीसाधन चैत ११ देखि नै ठप्प छन् । सरकारले गत असार १ देखि निजी सवारीसाधन सञ्चालन गर्ने र असार २६ देखि सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो ।

मौद्रिक नीतिले माग सम्बोधन गरेपछि र सोमबार यातायात व्यवस्था विभागसँग वार्ता गरी थप सहमति भएपछि ८ गतेदेखि सेवा सञ्चालन गर्ने भएका हुन् । मौद्रिक नीतिले यातायात व्यवसायीले उठाउँदै आएका मागमध्ये बैङ्क किस्ताको पुनर्तालिका र पुनर्कर्जा सम्बोधन गरेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्याले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “अब मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगार श्रमिक मैत्री कार्यविधि आउने छ भन्ने आशा गर्दछौँ । ”

व्यवसायीले कोरोनालाई ध्यानमा राखी सरकारले तोकेको भाडा दरमा साना, मझौला, ठूला सबै प्रकारका सार्वजनिक सवारी साधन जोर-बिजोर प्रणाली अनुसार सञ्चालन गर्ने भएका छन् । कोरोना बीमाका लागि श्रमिकको विवरण सम्बन्धित कम्पनीले एक हप्ताभित्र महासङ्घको कार्यालयमा पठाउन महासङ्घले सूचना गरेको छ ।

छोटो दूरी मात्र नभई मध्यम र लामो दूरीमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने सहमति भएपछि व्यवसायी सेवा सुचारु गर्न तयार भएका हुन् ।

त्यस्तै सोमबार विभागसँग भएको छलफलमा यातायात मजदुरहरूको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५० प्रतिशत अनुदान गर्ने सहमति भएको थियो । कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका निम्ति सरकारको तर्फबाट कोष स्थापनाका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने सहमति भएको थियो ।

यातायात मजदुरलाई स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको व्यवस्था स्वयम्ले गर्नुपर्ने छ । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पूरा गरी यातायात सञ्चालन गरिने महासङ्घले जनाएको छ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात पनि छिट्टै खुला गर्नुपर्ने व्यवसायी सङ्गठनको माग छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू