साउन २७, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मंगलबार देशभर मनाउँदै छन् । आज भगवान श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदै छ ।
जन्माष्टमीका दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
भगवान श्री कृष्ण ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता हुनुहुन्छ । श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ पनि भनिन्छ ।
आजका दिन कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरुको भिडभाड हुने गरे पनि यस पटक कोरोनाको कारण धेरै मन्दिरहरुले विज्ञप्ति नै निकालेर मन्दिर बन्द हुने सूचना दिएका छन् ।
आज ललितपुर पाटन मंगलबजारको प्रशिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन पुगेका समाचार पनि प्राप्त भईरहेको छ । कोरोना भाइरसको महामारीको बेला रहेकाले सरकारले भिडभाड नगर्न भनेको छ र धार्मिक स्थलहरु पनि खुला गरेको छैन । तर सर्वसाधारण बिहानैदेखि ठूलो संख्यामा पुगेका छन् । प्रहरीले उनीहरुको प्रवेशमा कडाई गरेको छ ।
Add Comment