आइतवार, चैत्र २९, २०७७
पत्रपत्रिकाबाट प्रमुख समाचार राष्ट्रिय

सच्चिएको नक्सा अनुसारको लोगो त्रुटिपूर्ण

भदौ १, काठमाडौं । देशको नक्सा सच्चिएको अनुसार बनेको नेपालको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फेरे पनि त्रुटिपूर्ण भेटिएको छ । वाग्मती प्रदेशअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालयले तयार गरेको लोगो त्रुटिपूर्ण भेटिए पछि लगाउने कि नलगाउने भन्ने अन्यौल सांसद्हरुमा बढेको छ ।

सुन र चाँदीको सम्मि श्रणबाट बनाइएको लोगोमा नक्साको स्वरूप र संघीय संसद् शब्द गलत ढंगले प्रयोग गरिएका छन् । लिम्पियाधुरासहितको नक्सा समेटेर तयार पारिएको लोगोमा मुलुकको नक्सा भने हेर्दै नेपालको जस्तो छैन । वास्तविक नक्सामा पश्चिम भाग उठेको र पूर्वी भाग अलि तल झुकेको छ । तर, लोगोमा नक्सा सीधा राखिएको छ । त्यो पनि आयतकार । यस्तै लोगोको तल्लो भागमा लेखिएको संघीय शब्दमा ‘सघीय’ मात्र छ । संसद्को द मा हलन्त दिन छुटाइएको ‘संसद’ लेखिएको छ ।

संसद् सचिवालयका अनुसार २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाई ५ हजार ५ सय २७ रुपैयाँमा प्रत्येक लोगो निर्माण भएको हो । सचिवालयका अनुसार साढे तीन सयवटा लोगो बनाउन झन्डै २० लाख रुपैयाँ खर्च भएको छ । करिब डेढ महिना लगाएर कलाकारहरूले हातैले कुदेर नयाँ लोगो बनाएका हुन् ।

सचिवालयले आइतबारै सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना र राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाललाई नयाँ लोगो हस्तान्तण गरेको छ । त्रुटि भेटिएको उक्त लोगो सचिवालयले आइतबारदेखि नै सांसदहरूलाई पनि वितरण गरेको छ । २० लाख रुपैयाँ खर्च गरेर बनाएको लोगोमा त्रुटि भेटिएपछि के गर्ने भन्नेमा सचिवालय नै अलमलमा छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू