भदौ २५, काठमाडौं । कोरोना भाइरस ९कोभिड-१९० महामारी सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा २४ गते बुधबार रातिबाट ३१ गते बुधबार रातिसम्म साविकभन्दा खुकुलो बनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै नयाँ व्यवस्था गरिएको हो ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त छलफलपछि उपत्यकाभर लागू हुनेगरी लकडाउन खुकुलो बनाइएको हो । निषेधाज्ञाबाट जनजीवनमा परेको प्रत्यक्ष प्रभावमा ध्यान दिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अपनाई अधिकांश क्षेत्र सहज बनाइएको छ ।
गत भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा २० दिनको अवधिमा १० र १७ थप सहज बनाइएको थियो ।
स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी बिहीबारदेखि जोर-बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको छ । १६ सिटभन्दा बढी क्षमता भएका यातायातका साधन सञ्चालन गर्न पनि अनुमति दिइएको छ ।
यसका लागि कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । त्यस्तै भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रकै बालबालिका भएमा थप दुई जनासम्म लैजान सकिनेछ ।
Add Comment