बुधबार, असार २, २०७८
प्रमुख समाचार स्वास्थ्य

नेपाली कांग्रेस र साझा पार्टीले भने- ‘डा. गोविन्द केसीका माग पुरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवार सरकार हुने’

१९ असोज, काठमाडौं । २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति नेपाली कांग्रेस र साझा पार्टीले चिन्ता प्रकट गरेका छन् । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पुरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोली निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाई छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गरे । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोली उत्पन्न हुने दुस्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उनले बताए । अनसनको २२ दिन पुग्दा पनि सरकारले वार्ता समेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र जागृत भइरहेको शर्माले बताए । अधिनायकवादी आकांक्षा राखेर अगाडी बढेको सरकारले केसीका मागहरु सुनुवाई गर्न ढिलाइ गरिरहेको उनले बताए ।

यसैगरी, साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गरी डा. केसीको स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता प्रकट गरेका हुन् । विज्ञप्तिमा डा. केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भन्ने प्रश्न गर्दै सरकारलाई त्यसको व्याख्या गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ-  ‘डा. केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपर्यो।’

डा. केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा रहेको जनाउँदै सो पार्टीले तर यिनै दलले पटक-पटक सरकारको नेतृत्व गर्दा पनि डा. केसी उस्तै माग राखेर फेरि फेरि अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू