सोमवार, साउन ११, २०७८
प्रमुख समाचार शिक्षा

अब स्थगित परीक्षा सञ्चालन हुने

असोज २२, काठमाडौं । विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विश्वविद्यालय, विद्यालय तथा आयोगको समेत स्थगित परीक्षा सञ्चालन गर्ने बाटो खुलेको जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै अब शैक्षिक संस्था तथा सम्बद्ध निकायले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिन पाउनेभएका हुन् । यसअघि सरकारले भौतिक उपस्थितिमा सञ्चालन गर्नेगरी परीक्षाका लागि बाटो खुला गरेको थिएन । मन्त्रालयले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न बाटो खोलिदिन सरकारसित सिफारिस गरेको थियो ।

यसैबीच लामो समयदेखि अन्योलमा रहेको कक्षा-१२ को स्थगित परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिनेभएको छ । सरकारको यो निर्णयले कक्षा-१२ को परीक्षा सञ्चालन गर्न बाटो खुले पनि परीक्षा सञ्चालनको विधि मापदण्ड लगायतको निधो हुन अझै बाँकी रहेकाले त्यसका लागि बढीमा एक साताभित्र निर्णयमा पुग्ने जानकारी शिक्षा प्रवक्ता शर्माले दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा टुङ्गो गरी विद्यालयलाई माथिल्लो कक्षामा अध्ययन गर्न बाटो खोलिदिएको छ । कक्षा-११ को परीक्षा विद्यालयले गर्न सक्ने गरी निधो गरेर सम्बद्ध विद्यालयलाई नै जिम्मा दिइएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू