आइतवार, जेष्ठ ३०, २०७८
कुटनीति प्रमुख समाचार

राष्ट्रपतिद्वारा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान

२० कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल भ्रमणमा रहनु भएको भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गर्नुभयो । राष्ट्रपतिको कार्यलय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच उहाँलाई उक्त दर्जा प्रदान गरिएको हो । सो समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद-पत्र पनि प्रदान गरिएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरु सरिक हुनुहुन्थ्यो ।

विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो । उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पा हुनुहुन्छ । उहाँलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो । गत जनवरीमा भारतका राष्ट्रपति श्री रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको थियो ।

सो समारोह पश्चात् जनरल नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभयो । उक्त भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थियो । राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गर्नुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू