सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

प्राज्ञिक विद्यार्थी परिषद्ले भन्यो– ‘संसद विघटन लोकतन्त्रमाथिको कुठाराघात र दूर्भाग्यपूर्ण’

६ पुस, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले संसद विघटनलाई दूर्भाग्यपूर्ण भनेको छ । आइतबार संसद विघटन गरी मध्यावधि घोषणा गर्ने प्रधानमन्त्रीको कदमलाई परिषद्ले ‘लोकतान्त्रितक मूल्य, मान्यता र पद्धतिमा विश्वास गर्ने सम्पूर्ण नेपालीका लागि अत्यन्त दूर्भाग्यपूर्ण विषय हो’ भनेको छ ।

परिषद्ले विज्ञप्ति मार्फत संसद् विघटन लोकतन्त्रमाथिको कुठाराघात हो भन्दै लोकतान्त्रिक पद्धतिमार्फत् संसद् पुनःस्थापना गरियोस् भन्ने माग समेत गरेको छ । आज राष्ट्रिय अध्यक्ष प्रा.डा. रामजी गौतम र राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘ लोकतान्त्रिक प्रक्रियामार्फत् २०७४ सालमा सम्पन्न संसदीय चुनावबाट निर्वाचित भएर बनेको सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने संसद्को विघटन अनायास र अप्रत्यासित रूपमा हुनु समग्र राष्ट्र एवं लोकतान्त्रितक मूल्य, मान्यता र पद्धतिमा विश्वास गर्ने सम्पूर्ण नेपालीका लागि अत्यन्त दूर्भाग्यपूर्ण विषय हो ।

जनताको अपेक्षा अनुसार कार्य गर्न नसक्नु दुई तिहाईयुक्त सरकारको आँफैमा कमजोरी र असक्षमता हो । नेतृत्वको असक्षमताका बाबजुद संविधानको गलत व्याख्या र प्रयोग गर्दै सम्माननीय प्रधानमन्त्रीद्वारा संसद् विघटनको प्रस्ताव पेश गरिनु र उक्त प्रस्तावलाई स्वीकृति गर्ने सम्माननीय राष्ट्रपतिको यो असंसदीय, अलोकतान्त्रिक, गैरजिम्मेवार, जनभावनाविपरित र निरंकुशता उन्मुख कार्यको प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल घोर भत्र्सना गर्दछ ।

सबैभन्दा उत्कृष्ट पद्धति भनेको नै लोकतान्त्रिक पद्धति र व्यवस्था हो । जसले समग्र जनताको मर्म र भावनालाई समेट्दै राष्ट्रको समृद्धिका लागि कार्य गर्ने गर्दछ । उक्त लोकन्त्रान्त्रिक पद्धतिलाई कमजोर र धरासायी बनाउनका लागि गरिएको संसद् विघटनको प्रक्रियालाई सच्याई पुनः लोकतान्त्रिक पद्धति एवं मूल्य मान्यताबाट संसद्को पुनःस्थापनाका लागि यथाशीघ्र कार्य गर्नुहुन र आफ्नो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नका लागि सम्बन्धित सम्पूर्ण निकायलाई हार्दिक आह्वान गर्दछौँ ।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू