१३ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।
भेटघाटको विषयवस्तुबारे पनि केही पनि बताइएको छैन । प्रधानमन्त्रीलाई भेट्नु अगाडि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । भेटघाटको बारेमा राष्ट्रपति कार्यालयले केही पनि बताएको छैन ।
प्रचण्डसँग भेटवार्ता
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको छ ।
भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।
आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग-अलग भेटवार्ता गरेको थियो ।
सो टोलीले आज नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता बताइएको छ ।
Add Comment