काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारी संघीय संसद् सचिवालयमा गराएको छ। महासचिवको कार्यकक्षमै पुगेर प्रचण्ड-नेपाल समूहका नेताहरुले यस्तो जानकारी गराएका हुन्।
आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई गराएका हुन्।
शुक्रबार बसेको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको दाबी गरेको छ। सोही जानकारी संसद सचिवालयमा गराइएको नेताहरुले बताएका छन्।
पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक साँझ ४ बजे बस्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन्।
संसद सचिवालयले भने उक्त सूचना दर्ता गर्न अस्वीकार गरेपछि प्रचण्ड–नेपाल पक्षले सांसदको हस्ताक्षर प्रमाणिकरण गर्ने तयारी गरिरहेको छ ।
Add Comment